राजेन्द्र बिक/ बाजुरा,२४ साउन। बाजुराको स्वामिकार्तिक गाउँपालिका वडा नम्बर-१ बाहुनीका कृषकको प्याज घरबाटै ढुवानी हुनथाले पछि स्थानिय कृषक खुशी भएका छन्।
बजारबाट टाढा रहेको बाहुनी गाउँमा यो वर्ष धेरै मात्रामा प्याज फलेपनि भौगोलिक बिकटताका कारण प्याज बजार सम्म पुर्याउन नपाइ घरमै कुहिन थालेपछि कृषि ज्ञान केन्द्र बाजुरा र स्वामिकार्तिक गाउँपालिका कृषि विकास शाखाको ढुवानी अनुदान सहयोगमा खच्चडमार्फत् १२ क्विन्टल प्याज पहिलो चरणमा जिल्ला सदरमुकाम मार्तडीमा पुर्याइएको छ।
पहिलो चरणमा ढुवानी गरिएको सबै प्याज बजारमाप्रति केजी रु ५० का दरले बिक्रि वितरण शुरु भएको कृषि ज्ञान केन्द्र बाजुराका प्रमुख गोभिन्द्र सिजापतिले बताए। वर्षातले गर्दा बाटो अबरुद्ध भएका कारण बाजुरा जिल्लाबाट प्याज बाहिर पठाउन सकियको छैन।
अबको ३ दिनभित्रै फेरि प्याज मार्तडीसम्म आउने र बाटो खुल्ने बित्तिकै बाहिरी जिल्लामा पनि पठाइने ज्ञान केन्द्र प्रमुख सिजापतिले बताए। किसानलाई प्रति केजि ३५ का दरले ढुवानी अनुदान दिइएको छ भने कृषकले बजारमा प्रति केजी ५० का दरले बिक्री गरेका छन्।
ढुवानी अभावमा मेहनतले फलाएको प्याज घरमै कुहिन थालेपछि चिन्तित बनेका किसान अनुदान सहयोगमा बजारसम्म पु¥याउन पाएपछि धेरै खुशी भएको बाहुनि गाउँका स्थानीय विष्णु विकले बताए। बजारको माग बढेर गए गाउँ -गाउँबाट अनुदानमा प्याज बजारसम्म ढुवानी गरिने कृषि ज्ञान केन्द्र बाजुराले जनाएको छ।



लोकपाटी न्यूज

