कोरोना तेस्रो लहरको संकेत देखापरेका छन्, सतर्कता अपनाऔं : देउवा

SherBahadur_Deuba
लोकपाटी न्यूज

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले सबैका साझा प्रयासले छिट्टै कोरोना महामारी नियन्त्रण गर्न सफल हुने विश्वास पनि लिएको बताएका छन्। भिडियो सन्देशमा प्रधानमन्त्री देउवाले कोरोना महामारीको तेस्रो लहरको लक्षण नेपालमा पनि देखिन थालेकोले स्वास्थ्य मापदण्डमा ध्यान दिन आग्रह पनि गरे।

उनले सरकारको एक्लो प्रयासले मात्र कोरोना महामारीसँग लड्न सम्भव नरहेकोले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर सहयोग गर्नपनि अपिल गरे। उनले सबै मिलेर मात्रै महामारीलाई पार लगाउन सकिने बताए। प्रधानमन्त्री देउवाले भिडभाड हुने कार्यक्रम नगर्न सम्पूर्ण राजनीतिक दल, निजी क्षेत्र, गैरसरकारी संस्थाहरूलाई आग्रह गरे।

‘तपाईं, हामी सबै महामारीको सामना गरिरहेका छौं। छिट्टै तेस्रो लहर सुरु हुने संकेत देखापरिरहेको छ। सरकारको एकल प्रयासले मात्र महामारी नियन्त्रण हुँदैन। तपाईं-हामी सबै मिलेर मात्र यलसलाई पार लगाउन सकिन्छ। त्यसैले म तपाईंहरुसँग आग्रह गर्छु, अत्यन्त आवश्यक परेको बेलामात्र बाहिर निस्कनुस्। नाक र मुख राम्रोसँग छोपिने गरी मास्क लगाउनुस्। भौतिक दूरी कायम गर्नुस् र बेलाबेलामा साबुन पानीले हात धुनुस्,’ देउवाले भनेका छन्।

उनले कोरोना महामारीलाई परास्त गर्ने एक मात्रै अस्त्र भनेको खोप भएको बताए। अहिले विभिन्न उमेर समूहलाई खोप लगाउने कार्य जारी रहेको पनि उनले उल्लेख गरेका छन्। ‘मलाई पूर्ण विश्वास छ सबैको साझा प्रयासले महामारी परास्त गर्न हामी सफल हुनेछौं,’ देउवाले भने।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्