काठमाडौं। मंसिरमा महाधिवेशन गर्ने गरी नयाँ कार्यतालिका ल्याउने कुरामा कांग्रेस सभापति देउवा र महामन्त्री शशांक कोइराला एकमत देखिएका छन्। भदौमा महाधिवेशन गर्न सम्भव नभएको भन्दै मंसिरसम्म सार्न सकिने महामन्त्री कोइरालाको धारणा छ।
नयाँ क्रियाशील सदस्यता र पार्टी समायोजनका विषयमा देखिएको विवाद समाधान गर्ने गरी मंसिरसम्म महाधिवेशन सार्न उपयुक्त हुने कोइरालाको प्रस्ताव छ। शुक्रबार साँझ देउवालाई भेट्न बालुवाटार पुगेका काँग्रेस युवा नेताहरुसँग सभापति देउवाले पनि महाधिवेशन सार्ने संकेत गरेका थिए।
काँग्रेस नेताहरु पनि १४ औं महाधिवेशन सार्ने तयारीमा जुटेका छन्। भदौ १६–१९ का लागि तय भएको महाधिवेशन कार्यतालिका प्रभावित भएपछि महाधिवेशन सार्ने तयारीमा नेताहरु लागेका हुन्।
साउन ९ गतेको काँग्रेस पदाधिकारी बैठकले साउन १२ को वडा अधिवेशन स्थगन गरेपछि भदौ २३ भित्र महाधिवेशन गरिसक्नुपर्ने संवैधानिक वाध्यतामाथि चुनौती थलिएको छ।
नेपाली काँग्रेसले २०७२ फागुन २३ गते १३ औं महाधिवेशन सम्पन्न गरेको भदौ २३ गते ५ वर्ष ६ महिना पुरा हुँदै छ । नेपालको संविधानको धारा २७९ उपधारा ४ अनुसार महाधिवेशन भएको ५ वर्ष ६ महिनाभित्र केन्द्रीय र प्रादेशिक कार्यसमितिको निर्वाचन गरिसक्नुपर्ने व्यवस्था रहेको छ।



लोकपाटी न्यूज

