काठमाडौं। नेकपा एमालेका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले पार्टीका गतिविधि नरोकिने प्रष्ट पारेका छन्। पार्टीका नियमित कामहरु अगाडि बढ्ने ज्ञवालीले बताए। उनले भने, ‘पार्टीका नियमित कामहरु अगाडि बढ्छन्। छलफल पनि चलिरहन्छन्।’ ज्ञवालीले असोजमा गर्न लागेको वडा र पालिका अधिवेशन नरोकिने प्रष्ट पारे।
एमाले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले एकतर्फी अधिवेशनले एकताको वातावरण बिथोल्ने भन्दै त्यसलाई रोक्न माग गरेको थियो। नेपाल पक्षको यो माग पूरा हुन नसक्ने ओली पक्षले बताएको हो। विधान अधिवेशनका लागि बसेको अनौपचारिक बैठकपछि प्रवक्ता ज्ञवालीले पार्टीका काम नरोकिने बताएका हुन्।
‘वार्ता र छलफलका नाममा पार्टीका कुनै पनि गतिविधि रोकिँदैन। स्थानीय निकायको निर्वाचन नजिक आइरहेको समयमा यसलाई रोक्ने कुरा हुँदैन,’ उनले भने। पार्टी एकताका छलफल र अधिवेशनका काम सँगसँगै अघि बढ्ने उनको भनाइ छ।
बैठकमा स्थायी कमिटीका सबै सदस्यहरु, विधान संशोधनका निम्ति बनेको समिति, राजनीतिक प्रस्तावसँग सम्बन्धित समिति, प्रदेशका अध्यक्षहरु र संगठन विभागका सदस्यहरु लगायतको उपस्थिति थियो। शुक्रबारको बैठकमा महत्त्वपूर्ण सुझाव प्राप्त भएको र त्यसमा आधारित भएर केन्द्रीय कमिटीले प्रस्ताव तयार गर्ने ज्ञवालीको भनाइ छ।



लोकपाटी न्यूज

