काठमाडौं। नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले असार २७ मा कार्यदलले गरेको १० बुँदे सहमतिकै आधारमा एकता टुंग्याउने निर्णय लिएको छ। पार्टीमा असन्तुष्ट नेता नेपाल पक्षको केन्द्रीय समिति सदस्यहरूको बैठक समापनपछि नेता रघुजी पन्तले यसबारे जानकारी दिएका हुन्।
‘पार्टी एकताका लागि १० बुँदे सहमति भइसकेको छ। तर पार्टीका वरिष्ठ नेता र अन्यमाथि अनेक प्रकारका टिप्पणी र लाञ्छना लगाउने काम भइरहेका छन्, ती कुरा रोकिनुपर्छ,’ पन्तले भने, ‘आफ्ना विचार व्यक्त गर्दा पार्टीका सबै नेताहरू जिम्मेवार र संवेदनशील हुनु आवश्यक छ।’ उनले पार्टी एकताका लागि कुराकानी र वार्ता चलिरहेका बेला सदस्यता नवीकरणसहितका काम रोक्न पनि अध्यक्ष केपी शर्मा ओली पक्षसँग आग्रह गरेका छन्।
बैठकले यसबारे पनि निर्णय लिएको पन्तले बताए। ‘एकता वार्ता चलिरहेका बेला नवीकरण, पार्टी विभाग पुनर्गठन जस्ता काम रोकिनुपर्छ,’ उनले भने, ‘अहिलेसम्म भएका १० बुँदे लगायतका सहमतिले एकताको आधार बनाएका छन्। १० बुँदेलाई कार्यान्वयन गर्दै जानुपर्छ। अहिले पनि कुराकानी र वार्ता भइरहेको छ। पार्टीलाई एकताबद्ध बनाउन सजगतासाथ अघि बढ्ने निर्णय हामीले गरेका छौं।’
दुई दिन लामो बैठक चार बुँदे निर्णय गर्दै सकिए पनि पन्तले बताएका छन्। उनले सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गरेकोमा बैठकले स्वगत गरेको बताए।
‘बैठकमा वरिष्ठ नेता नेपालले सम्मानजनक पार्टी एकतामा जोड दिनु भयो। स्थायी कमिटीको बैठक र केन्द्रीय कमिटीमा पनि उहाँको धारणा त्यही थियो,’ उनले भने, ‘आफ्नो सम्बोधन नेपालले हामीले पनि आलोचना गर्दा संयमित र हुनुपर्छ भन्नु भयो। दक्षिणपन्थी विचार त्यागौं। केपी ओलीले जति गाली गरे पनि म पार्टी मिलाउने पक्षमा छु भन्नु भएको छ। केपी ओलीले अल्मल्याउने कुरा नहोला भन्नेमा उहाँको विश्वास थियो। उहाँले एकताको प्रयत्न गरौं, हामीले एकतामै जोड दिनुपर्छ भन्ने कुरा राख्नुभयो।’
पन्तले अझै पनि कार्यदलको सदस्यहरूले वार्ता गरिरहेको बताए। ‘कार्यदलले मात्रै होइन, वरिष्ठ नेताहरूले कुरा गरिरहनु भएको छ। एकताका लागि विभिन्न तह र चरणमा प्रयत्न भइरहेका छन्। त्यो भन्दा मुख्य कुरा कार्यदलका १० जना साथीहरू लाग्नु भएको छ,’ उनले अगाडि भने, ‘१० बुँदा मिल्यो, त्यसकै आधारमा एकता हुन्छ। दुवैतिर अविश्वास छ। एकले अर्कालाई आलोचना गर्ने काम भएको छ। एक अर्कालाई बुझ्नेमा समस्या छन्। एक महिनाभित्रै मिलाउने हाम्रो चाहना छ।’



लोकपाटी न्यूज

