नेपाल समूहको केन्द्रीय कमिटी बैठक आज पनि बस्दै

Madhav_Nepal_Meeting oic
लोकपाटी न्यूज

काठमाडौं। नेकपा एमालेको खनाल–नेपाल समूहको केन्द्रीय कमिटीको बैठक आज पनि बस्ने भएको छ। आज बस्ने बैठकमा पनि केन्द्रीय सदस्यहरुले आ–आफ्नो धारणा राख्ने छन्।

बुद्धनगरस्थित क्वालिटी क्याङ्कवेटमा बिहीबारदेखि सुरु भएको बैठकमा पार्टीको अन्तरबिरोधका विषयमा नेताहरुले आफ्नो धारणा राखेका थिए।

बैठकमा राखेका अधिकांश सदस्यहरुले १० बुँदे सहमति एकताका लागि अपर्याप्त रहेको बताएका थिए। बैठकमा नेपाल पक्षका कार्यदलको संयोजक भीम रावलले १० बुँदे सहमतिको ब्रिफिङ गरेका थिए।

बैठकमा धारणा राखेका अधिकांश नेताहरुले पार्टी अध्यक्ष केपी शर्मा ओलीले संसद् विघटन गरेको विषयमा आत्मालोचना गर्नुपर्ने बताएका छन् । नेताहरुले पार्टी एकताका लागि सम्मानजनक पावर सेयरिङ हुनुपर्ने बताएका छन् ।

बैठकलाई सम्बोधन गर्दैै नेता माधवकुमार नेपालले अध्यक्ष केपी शर्मा ओलीको बोली पार्टी एकताको बाधक बनेको बताएका थिए। बैठकलाई सम्बोधन गर्दैै नेता माधवकुमार नेपालले आफू जतिसुकै अपमान सहेर पनि पार्टी एकता जोगाउन लागिपर्ने बताएका थिए।

यस्तै, केन्द्रीय कमिटी बैठकले महाधिवेशनका सम्पुर्ण कार्यक्रम स्थगित गर्न माग गरेको छ।
पार्टी एकताबद्ध बनाउने विषयमा गृहकार्य जारी रहेकै बेला महाधिवेशनका कार्यक्रम स्थगित गर्नुपर्ने माग अघि सारेको हो।

एमाले अध्यक्ष केपी शर्मा ओली पक्षको हालै बसेको बैठकले भने विधान अधिवेशन, वडा तथा पालिका अधिवेशन कार्यक्रम सार्वजनिक गरिसकेको छ। बैठकमा सहभागी स्थायी कमिटी सदस्य रघुजी पन्तले पार्टी एकताबद्ध बनाउने गृहकार्य भइरहेकै बेला महाधिवेशनका सम्पुर्ण कार्यक्रम स्थगित गर्नुपर्ने निष्कर्ष बैठकको रहेको जानकारी दिए।

बैठकले एकताका लागि वार्तालाई निरन्तरता दिने निष्कर्षसमेत निकालेको छ। दुई समूहमा विभाजित एमाले एकताबद्ध बनाउन दोस्रो तहका नेता निरन्तर छलफलमा छन्। नेपाल पक्षको बैठकले अध्यक्ष ओली पक्षसँगको वार्तालाई निरन्तरता दिँदै पार्टी एकताबद्ध बनाउने निष्कर्ष निकाल्दै छलफल जारी राख्ने पन्त बताउँछन्।

ओली–नेपाल विवाद बढ्दै गएपछि पार्टी फुट संघारमा पुगेको छ। दुई समूहमा विभाजित एमाले नेता एकताका लागि दोस्रो तहका नेताले दबाब दिँदै आएका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्