‘थारुको पर्यायवाची कमलरी, कमैया कदापि होइन’

लोकपाटी न्यूज

काठमाडौं। नेकपा माओवादी केन्द्रकी सांसद रामकुमारी चौधरीले थारु समुदायलाई कमलरी र कमैयाको रूपमा चित्रण गरिन थालिएको भन्दै आपत्ति जनाएकी छन्। कमलरी सांसदहरू राष्ट्रिय, अन्तर्राष्ट्रिय मञ्चमा थारु समुदायको पहिचानमाथि आघात पुग्ने गरी प्रस्तुत हुन थालेको चौधरीको भनाई छ। एमाले सचेतक शान्ता चौधरीप्रति लक्षित गर्दै उनले सम्पूर्ण थारु समुदाय नै कमलरी र कमैया हुन भने जस्तै गरी प्रस्तुत गरिनु सरासर गलत भएको टिप्पणी गरिन्।

राष्ट्रिय, अन्तर्राष्ट्रिय मञ्चहरूमा कमलरीहरूले विगतमा सामन्तहरूबाट भएका मानसिक र शारीरिक शोषणका कुरा राख्नु, आफ्ना पिडाहरू सुनाउनु अधिकार र कर्तव्य विषय भएपनि सम्पूर्ण समुदायले आत्मसम्मान गुमाउने गरी परिचय गराउनु गलगत हुने चौधरीको टिप्पणी छ। जिम्मेवार व्यक्तित्वको यस्तो प्रस्तुतिबाट थारुको पर्यायवाची शब्द कमलरी र कमैया त बन्ने होइन भन्ने खतरा रहेको उनले बताइन्। सामन्तहरूले केही थारु समुदायका मानिसलाई कमलरी र कमैया बनाएको भएपनि सम्पूर्ण समुदायलाई यसरी प्रस्तुत गर्न नहुने उनले बताइन्।

थारुलाई कमलरी र कमैयाको रूपमा प्रस्तुत गरिनु ४० लाख थारुहरूको पहिचानमाथि खेलबाड गर्नु भएको उनको टिप्पणी छ। चौधरीले यस विषयमा सोच्न पनि आग्रह गरिन्। उनले आफ्नो समुदायलाई आघात पुग्ने काम कसैले पनि गर्न नहुने बताइन्। पारिवारिक र परिस्थितिजन्य अवस्थाले कमलरी, कमैया बस्न बाध्य पारिनु दुःखद विषय भएको उनले बताइन्। तर समुदायगत हिसाबले त्यसको प्रचार गरिनु अन्याय हुने उनको बुझाइ छ। सांसद रामकुमारी चौधरीले सामाजिक सञ्जालमा लेखेकी छन्ः

थारुको पर्यायवाची कमलरी कमैया कदापि होइनन्!

नेपालको थारु जाती तराईको भूमिपुत्रहरु हुन्। पूर्व झापादेखि पश्चिम कञ्चनपुरसम्म यिनीहरू नै तराईका मुख्य भूमिपतिहरु हुन। तर, समयकालसँगै खास गरी पश्चिम नेपालको दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरका केही थारुहरूको जमिनलाई तत्कालीन सामन्तवादका ठूला सामन्तहरूले आफ्ना भाइ भारदारहरूलाई बिर्ताको रूपमा बक्सिस दिएर केही थारुहरूलाई भूमिहीन बनायो। घर जमिन विहीन भएका थारुहरूले आफ्नो रोजीरोटी जोगार गर्नलाई स्थानीय सामन्तका घरमा गएर काम गरेर आफ्नो परिवारको गुजरा चलाउन थाल्यो।

बिस्तारै ती सामन्तहरूले आफ्नो घरमा काम गरिरहेका महिलाहरूलाई कमलरी र पुरुषहरूलाई कमैया बनाउँदै गयो। सामन्तवादको अन्त्य र गणतन्त्रको घोषणासँगै सरकारले कमैया र कमलरी मुक्त घोषणित कार्यक्रमलाई कार्यान्वयन गरियो। नयाँ संविधानमा संघीयता, समावेशिता, समानुपातिक प्रतिनिधित्वको सुनिश्चिततासँगै सबै उत्पीडित क्षेत्र, लिंग, समुदायहरूको प्रतिनिधित्व सरकार, संघीय संसद् लगायत विभिन्न निकायमा भएका छन्।

यसै सन्दर्भमा केही कमलरी माननीयले संसद्, राष्ट्रिय, अन्तर्राष्ट्रिय मञ्चहरूमा, स-साना कार्यक्रमहरूमा कमलरीहरूले विगतमा सामन्तहरूबाट भएका मानसिक र शारीरिक शोषणका कुरा राख्नु, आफ्ना पिडाहरू सुनाउनु उनीहरूको अधिकार र कर्तव्य हो। तर, सम्पूर्ण थारु समुदाय नै कमलरी र कमैया हुन भने जस्तै गरी प्रस्तुत गरिनु यो सरासर गलत हो। यो तराईमा रहेको ४० लाख थारु र २५ लाख थारु महिलाहरूको बेइज्जती हो।

केही महिला पुरुष थारुहरू कमैया र कमलरी बसेका हुन, सम्पूर्ण थारु समुदाय नै कमैया र कमलरी बसेका होइनन्। राष्ट्रिय, अन्तर्राष्ट्रिय मञ्च, सरकारी गैरसरकारी कार्यालयहरू, बौद्धिक समाज, स्कुल, कलेज, अस्पताल वा अरू कुनै ठाउँमा हामी थारु/चौधरी परिचय दिँदा उनीहरूले हामीलाई बुझ्ने, सम्झिने र सोच्ने एउटै हुन्छन्। ए यो त कमलरी/कमैया हो। विस्तारै विस्तारै कतै थारुको पर्यायवाची शब्द कमलरी र कमैया त बन्ने होइनन्। यो सोच्न र सोचिन बाध्य पारेको छ।

हामी सम्पूर्ण थारु समुदाय वर्ग, तह, बौद्धिक, थारु सम्बन्धी अधिकार र विकासका लागि अग्रसर थारु संघ संस्थाहरूले आ-आफ्नो ठाउँबाट यो बहस (थारुको पर्यायवाची कमलरी/कमैया कदापि होइनन्।)लाई उठान गरी एउटा तार्किक निष्कर्षमा पुग्न जरुरी छ। ४० लाख थारुहरूले आफ्नो पहिचान थारु हो भनेर शिर उठाएर बोल्न, हिँड्न पाउने वातावरण बनाउन आवश्यक देखिन्छ। नेपालका थुप्रै विभिन्न समुदायका चेलीबेटीहरू दलालबाट बेचिएर भारतका विभिन्न कोठीहरूमा आफ्नो शरीर दसकौं बेचिएर फेरी घर फर्केका छन् र राम्रै काम गरेर इज्जत साथ बसिरहेका छन्। पुरानै कुरालाई भजाएर हिँडेका पनि छैनन्। बरु अरू महिलाहरू त्यसरी नबेचिन पुगुन् भनेर सामाजिक क्रियाकलापहरूमा सहभागिता जनाई रहेका हुन्छन्। उनीहरूले आफ्नो समुदायलाई आघात पुग्ने काम गरेका छैनन्।

कमलरी बसेकाहरू पनि एक किसिमको बेचिएका महिलाहरू नै हुन्। पारिवारिक र परिस्थिति जन्य अवस्थाले उनीहरू कमलरी कमैया बस्न बाध्य भए। उनीहरू निश्चय नै शारीरिक र मानसिक शोषणमा परे त्यो दुःखद कुरा हो तर समुदायगत हिसाबले प्रचार गरिनु, अनावश्यक थारु महिलाहरू प्रति नेपाली समाजले विस्तारै कमलरी दृष्टि बनाउनु यो सरासर गलत र अन्याय हो। कुनै व्यक्तिको अधिकारको सुनिश्चितताको लागि समाज र समुदायलाई बदनाम पारिनु पक्कै पनि सकारात्मक कुरा होइनन्। हामी सम्पूर्ण थारु समुदाय सचेत हुनुपर्छ की आउने पुस्ताले थारु समुदाय र कमलरी /कमैया एउटै होइनन्। थारु लेख्न भन्न गर्भ महसुस गरोस्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्