काठमाडौं। नेकपा एमालेमा असन्तुष्ट वरिष्ठ नेता माधवकुमार नेपाल पक्षीय केन्द्रीय समितिका सदस्यहरूको बैठक आजदेखि काठमाडौंमा सुरु भएको छ। बैठकले आफ्नो पक्षको आगामी रणनीति तय गर्ने जनाइएको छ। काठमाडौंको बुद्धनगरमा जारी बैठकमा आज पहिलो दिन पार्टीका वरिष्ठ नेता नेपालले समसामयिक विषयमा भनाइ राखेको र त्यसपछि उपाध्यक्ष डा भीम रावलले बैठकमा १० बुँदे सहमतिबारे ब्रिफिङ गरेका छन्।
बैठकमा नेता रावलले बोल्ने क्रममा घोचपेच भएको छ। पार्टी एकताका विषयमा आन्तरिक समस्या समाधानका लागि बनेको कार्यदलले गरेको सहमति र प्रयासबारे जानकारी गराउनले क्रममा रावल र नेता जगन्नाथ खतिवडाबीच घोचपेच भएको हो। रावलले एकता प्रक्रियालाई १० बुँदेमै टेकेर अघि बढाउनुपर्नेमा जोड दिएका थिए।
त्यही क्रममा नेता रावलले कोभिड-१९ को प्रकोप फेरि बढ्दै गएकाले यसरी भीड गरेर बैठक गरिनु उचित नहुने पनि तर्क गरेका थिए। त्यसपछि नेता खतिवडाले आफूहरु यो बैठकमा रावलको मात्रै कुरा सुन्न नआएको भन्दै कटाक्ष गरेका थिए। खतिवडाले आफूहरुले पनि राखेका कुरा सुन्नुपर्ने बताउँदै रावलका व्यक्तिगत कुरा सुन्न मात्रै बैठकमा नआएको बताएका थिए। त्यसपछि नेता रावलले आफूहरु कार्यदलमा स्थायी कमिटीको निर्णयबाट गएको बताएका थिए।
अहिले एकताका लागि भइरहेको वार्ता पनि स्थायी कमिटीकै निर्णयअनुसार भइरहेको बताउँदै व्यक्तिगत तहमा टिप्पणी नगर्न रावलले खतिवडालाई भनेका थिए। खतिवडाले १० बुँदे सहमतिलाई अपूरो भन्दै व्यक्तिको रिपोर्टिङबाट नभइ त्यसबारे दस्तावेजकै रुपमा बैठकमा कुरा आउनुपर्ने बताएका थिए।
उक्त बैठकमा त्यसअघि बोल्दै नेता नेपालले ओलीले आत्मालोचना गरेका एकता सम्भव रहेको बताएका थिए। उनले ओली दोस्रो अध्यक्षबाट पनि व्याक भइसकेको बताउँदै एकता आफूहरुले गर्ने बताएका थिए। ‘ओली एकपछि अर्को गर्दै ब्याक भइरहेका छन्। तर ओलीले एमाले एकता गर्ने होइन एकता गर्ने हामीले हो’, नेपालले भने, ‘एमाले एक बनाएर जाने हो भने अहिलेसम्ममा गल्तीलाई लिएर ओलीले आत्मालोचना गर्नुपर्छ।’
तर आजको बैठकमा बोलेका १५ केन्द्रीय सदस्यमध्ये अधिकांशले ओली व्याक हुँदै गए पनि एकता गर्नै पर्ने मत राखेका थिए। उनीहरुले एमालेलाई एउटा बिन्दुमा पुगेर मिलाउनै पर्ने राय राखेका थिए।



लोकपाटी न्यूज

