काठमाडौं। नेकपा एमालेमा असन्तुष्ट वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको केन्द्रीय समिति बैठकमा बिहीबारदेखि सुरु भएको छ। बिहीबार बसेको पहिलो बैठकमा विजय पौडेल, झपट रावल, बलराम बाँस्कोटा, रामकुमारी झाँक्री, सविता भुसाल, शेरबहादुर केसी, रवीन्द्र अधिकारी, अनु नेपाल, चूडामणि जंगली, ठाकुर गैरे, भागवत विश्वासी, नागेन्द्र चौधरी, बलदेव चौधरी, भानुभक्त जोशीलगायतका केन्द्रीय सदस्यहरूले आफ्नो धारणा राखेको बैठकपछि नेता रघुजी पन्तले जानकारी दिए।
उनले केन्द्रीय सदस्यहरूले विचार राख्ने क्रम जारी रहेको भन्दै शुक्रवार साढे ११ बजे पुनः बैठक बस्ने जानकारी दिए। बैठकमा वरिष्ठ नेता नेपालले एकता र वार्ताको प्रक्रिया अघि बढिरहेकोले केही विषयमा सहमति भएको र केहीमा अझै वार्ता भइरहेको जानकारी दिएको पन्तले जानकारी दिए। नेपालले एकता आफूहरूको इच्छा र चाहना भएको पनि बताएका थिए। तर एकता सम्मानजनक हैसियतमा मात्रै हुनसक्ने नेपालको भनाइ थियो।
बैठकमा नेताहरूले पार्टी महाधिवेशन प्रक्रिया रोक्न माग गरेका छन्। यसअघि एकताका लागि कार्यदलले तयार पारेको १० बुँदे सहमति अनुसार २०७५ जेठ २ गतेको कमिटी बसेपछि मात्रै अरू प्रक्रिया अघि बढाउनुपर्ने नेपाल पक्षको माग छ। वरिष्ठ नेता नेपालले पनि आफूहरू एकताकै पक्षमा रहेको बताएका छन्।
अध्यक्ष केपी ओली पक्षले यसअघिको बैठकबाट असोजको पहिलो साताभित्र स्थानीय तहका अधिवेशन सम्पन्न गरिसक्न निर्देशन दिएको थियो। जुन बैठकमा नेपाल समूह उपस्थित थिएन। नेपाल पक्षको बिहीबारको बैठकले भने ओली पक्षको निर्देशन रोक्नुपर्ने माग गरेको हो। वडा र नगर कमिटीको अधिवेशन रोकेर एकताका लागि पहल गर्न नेपाल पक्षको माग छ।
पन्तले कोरोना नियन्त्रण प्रभावकारी बनाउन, बाढी पहिरोबाट पीडित भएकाहरूलाई राहत र क्षतिपूर्ति दिन तथा महाकाली घटनाका बारेमा सत्य तथ्य बाहिर ल्याउन नेता नेपालले सरकारलाई सुझाव दिएको पनि बताए। यस्तै बिहीबारको बैठकमा नेकपा एमाले कार्यदलका सदस्य भीम रावलले १० बुँदे एकता प्रस्तावबारे ब्रिफिङ समेत गरेका थिए।



लोकपाटी न्यूज

