मधेश झर्दै ठाकुर समूह, यस्तो छ योजना

Mahanth_Thakur_Rajendra_Mahato
लोकपाटी न्यूज

काठमाडौं। जनता समाजवादी पार्टी नेपालको आधिकारिकता गुमाएपछि महन्थ ठाकुरले सो पार्टीका अध्यक्ष उपेन्द्र यादवको गल्ती, कमजोरीहरू जनता समक्ष राख्न भन्दै जनता समाजवादी पार्टी नेपालकै अध्यक्षका हैसियतमा मधेस पस्ने तयारी गरेका छन्।

मधेसका विभिन्न जिल्लामा कार्यक्रम निर्धारण गरिसकेका ठाकुरले जसपा नेपालकै अध्यक्षको हैसियतमा अपिलसमेत जारी गरेका छन्। उनले पार्टी एकीकरणपछि बराबरीको आधारमा समायोजन गर्न निरन्तर प्रयास गर्दा पनि उपेन्द्र यादवका तर्फबाट विभिन्न बहानामा समायोजन रोक्ने प्रयास गरेको दाबीसमेत गरेका छन्।

आफूहरूले परम्परावादीरूपमा रहेका काँग्रेस र कम्युनिस्ट पार्टीहरूको तुलनामा विचारमा वैकल्पिक र देशको लोकतान्त्रिक मूल्य मान्यताको र पहिचानसहितको संघीयतावादी समाजवादी विचारधाराको पहिलो नम्बरको पार्टी बनाउन थालेको तर उपेन्द्र यादवले नै विभिन्न बहाना बनाउँदै त्यसलाई हुन नदिएको ठाकुरको आरोप छ।

उनले जारी गरेको अपिलमा केपी शर्मा ओलीसँग आफूहरूको निकटता बढ्नुको कारणसमेत प्रस्ट्याएका छन्। माग मुद्दा जसले सम्बोधन गर्छ त्यही पक्षसँग सहकार्य गर्नुपर्छ भनेर आफूहरूले सबैसँग वार्ता र संवाद गर्ने पार्टीगत निर्णयका आधारमा एमाले, काँग्रेस तथा माओवादी केन्द्रसँग छुट्टा छुट्टै संवाद गरेको ठाकुरको अपिलमा उल्लेख छ। ओलीले आफूहरूको माग पुरा गर्ने प्रतिबद्धता मात्र होइन, १३९ जनाको मुद्दा फिर्ता, नागरिकता सम्बन्धी अध्यादेश, संविधान संशोधनका लागि कार्यदल गठनसमेत गरेको भन्दै उनले ओलीसँगको आफूहरूको निकटताको बचाउ गरेका छन्।

यी माग पूरा भएपछि ओली नेतृत्वको सरकारसँग सहकार्य गर्न पार्टीमा प्रस्ताव गर्दा उपेन्द्र यादव पन्छिएको उनको आरोप छ। उपेन्द्र यादवले पार्टीको निर्णय विना विपक्षी गठबन्धनसँग साठगाँठ बढाउन थालेपछि पार्टीमा विवाद बढेको उल्लेख गर्दै ठाकुरले वैशाख २७ गते तत्कालीन प्रधानमन्त्री ओलीले विश्वासको मत लिने निर्णय गरेपछि आफूहरूले पार्टीलाई एक ढिक्का राख्नका लागि तटस्थ बस्ने निर्णय गरेकोसमेत प्रस्ट्याएका छन्। तर उपेन्द्र यादव पक्षका सांसदहरूले विश्वासको मतको प्रस्तावको विपक्षमा मतदान गरेका कारण दुवै पक्षबीच दुरी बढेको ठाकुरको ठहर छ।

उपेन्द्र यादवले प्रतिशोधात्मक भावना लिई एकतर्फी रूपमा आफू लगायत पार्टीका केही शीर्ष नेतालाई पार्टीबाट निकाल्नेसम्मको अराजक क्रियाकलाप गरेको आरोप लगाउँदै ठाकुरले पार्टीमा विवाद बढ्नुमा उपेन्द्र यादवलाई नै जिम्मेवार ठहर्‍याएका छन्। प्रदेश २ मा जसपा नेपालको स्पष्ट बहुमत हुँदा हुँदै बदनियत पूर्ण तरिकाले उपेन्द्र यादव पक्षले मधेसी भावना विपरीत काँग्रेस र माओवादी केन्द्रलाई सरकारमा सहभागी गराएको उनको आरोप छ।

उपेन्द्र यादव स्वयं ओली नेतृत्वको सरकारमा सहभागी भएको बेला आफूहरूलाई पनि प्रदेश २ को सरकार परिवर्तनका लागि दबाब रहे पनि आफूहरूले त्यस्तो नगरेको भन्दै ठाकुरले निर्वाचन आयोगले उपेन्द्र यादवलाई आधिकारिता दिने निर्णय गरेकोमा आफूहरूलाई चित्त नबुझेको र त्यसको विरुद्ध सर्वोच्चमा रिट निवेदन दिएको उल्लेख गरेका छन्। उनले अदालतबाट आफूहरूको पक्षमा फैसला आउने विश्वाससमेत व्यक्त गरेका छन्।

आत्मालोचना गरी आएमा पार्टीमा स्वीकार गर्ने उपेन्द्र यादवको उर्दीप्रति पनि उनले आक्रोश व्यक्त गरेका छन्। अपिलमा उनले भनेका छन्, ‘आफू १८ महिना ओली नेतृत्वको सरकारमा बस्दा माग मुद्दाको सवालमा एउटा सिन्को भाँच्न नसक्नेले हामी १८ दिनमै माग मुद्दाहरू पूरा गराउँदा हामीतिर औँला देखाइरहेका छन्। अरूलाई एउटा औँला देखाउनेले आफूतिर फर्केका चार औँलालाई सम्झिनै पर्छ र जनतालाई जवाफ दिन तयार बस्नुपर्छ।’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्