सत्ता गठबन्धन कार्यदलको बैठक बालुवाटारमा जारी

gathabandhan_karyadal
लोकपाटी न्यूज

काठमाडौं। सरकारको न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रूप दिनका लागि सत्ता गठबन्धनको कार्यदलको बैठक बसिरहेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बुधवार बिहान ९ बजेबाट सुरु भएको बैठकले यसअघि बनाइएको न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रूप दिने तयारीले एक सदस्यले बताए।

कार्यदलको यसअघिको बैठकले सरकारका प्राथमिकता र मन्त्रीहरूका लागि आचारसंहिता बनाएको छ। साझा कार्यक्रमलाई अन्तिम रूप दिएर गठबन्धनका शीर्ष नेताहरूसँग परामर्श गरेपछि प्रतिवेदन सार्वजनिक गर्ने कार्यदलको तयारी छ।

कार्यदलको प्रारम्भिक प्रतिवेदनमा कोभिड-१९ बाट उत्पन्न महाविपत्तिबाट मुक्ति, राष्ट्रिय हितको संवर्द्धन तथा संघीयताको कार्यान्वयन र संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण विषय राखिएको छ। यसबाहेक शान्ति सुरक्षाको प्रत्याभूति, सुशासन र सदाचार, शान्ति प्रक्रियाको पूर्णता, आर्थिक नीति तथा कार्यक्रम, सामाजिक रूपान्तरण, तात्कालिक राहत, पुनर्निर्माण र पुनर्स्थापन, पर्यावरणीय सन्तुलन र अन्तर्राष्ट्रिय सम्बन्ध पनि कार्यक्रममा समेटिएका छन्।

साथै, कार्यदलले सरकारका ११बुँदे प्राथमिकता र मन्त्रीहरूको १४बुँदे आचारसंहिता पनि बनाएको छ। काँग्रेस महामन्त्री पूर्णबहादुर खड्का नेतृत्वको कार्यदलमा काँग्रेसबाट मिनेन्द्र रिजाल र रमेश लेखक, माओवादी केन्द्रबाट वर्षमान पुन र देव गुरुङ तथा जसपाबाट राजेन्द्र श्रेष्ठ र महेन्द्रराय यादव सहभागी छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्