मन्त्री चुन्‍न सर्त राखेको लाइसेन्स जारी गरौं : सांसद महत

Gajendra_Mahat
लोकपाटी न्यूज

काठमाडौं। नेकपा माओवादी केन्द्रका सांसद गजेन्द्र महतले मन्त्री बन्न योग्यता तोक्ने प्रस्ताव राखेका छन्। सत्ता साझेदार दलहरूलाई मन्त्री चयन गर्न कठिन भएको समाचारहरू सार्वजनिक भइरहेका छन्। सोहीतर्फ लक्षित गरेर सांसद महतले मन्त्री बन्नका लागि योग्यता तोक्नुपर्ने भनी व्यंग्य गरे।

उनले मन्त्री चयन गर्नका लागि सकस भएको भए सर्त राखेर लाइसेन्स जारी गर्न भनेका छन्। प्रतिनिधिसभाको मंगलबारको बैठकमा सांसद महतले भने, ‘मन्त्री चुन्न सकस भयो भन्ने नेताहरूले भनेको सुनिन्छ। मन्त्री चुन्न लाइसेन्स जारी गरौं। मन्त्रीको लाइसेन्स जारी गर्दा मन्त्री बन्नका लागि सर्त राखौं।’

मन्त्री कस्तालाई बनाउने भन्ने सर्त राख्नुपर्ने भन्दै महतले व्यंग्यात्मक रूपमा सुझाव राखेका थिए। ‘स्थायी कमिटी सदस्य हुनैपर्ने। टन्न पैसा भएको हुनुपर्ने। योभन्दा अगाडि कम्तीमा २ पटक मन्त्री भएकै हुनुपर्ने। भरसक धेरै पार्टी फेरबदल गरेको हुनुपर्ने। त्यसमा सिपालु हुनुपर्ने। पार्टी नेतृत्वलाई घुर्की, धम्की, धाक दिन सक्ने पनि राखौं,’ उनले सुझाए, ‘यसो गर्दा सजिलो होला। गुटमा आबद्ध भएकै हुनुपर्ने। भरसक पति, पति नभए पत्नि यो पनि राखौं।’

मन्त्रीका लागि लाइसेन्समा राख्नुपर्ने शर्तबारे उनले थपे, ‘नेतृत्वको वरिपरि घुमी खुसी बनाउने खुबी भएको। भ्रष्टाचार र कमिसन सबै दुलाहरू थाहा पाएको, त्यो क्षमता भएको माननीयलाई मन्त्री बनाउने सर्त राखौं। यो सदनमा आइराख्न नपर्ने यसो झल्याकझुलुक गरे हुने प्रावधान राखौं। हाम्रो नेतालाई सजिलो होला।’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्