काठमाडौं। सत्तारुढ गठबन्धन कार्यदलको बैठक सकिएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको कार्यदलको बैठक विना निष्कर्ष सकिएको हो। बैठक पुनः अपराह्न ४ बजे बस्ने छ।
सरकारले गर्ने न्यूनतम साझा कार्यक्रमलाई अपराह्न बस्ने बैठकले अन्तिम रूप दिएर शीर्ष नेतालाई प्रतिवेदन बुझाउने तयारी कार्यदलले गरेको छ। न्यूनतम साझा कार्यक्रमको मस्यौदा सोमबार नै टुंगो लगाइएको थियो। त्यसबारे सोमबार साँझ गठबन्धनका शीर्ष नेताहरूलाई जानकारी गराइएको थियो। गठबन्धनका शीर्ष नेताहरूले मस्यौदामा राखेका सुझाव समेट्न मङ्गलवार बिहानै देखि कार्यदल बैठक बसेको थियो।
प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जसपा अध्यक्ष उपेन्द्र यादवबीच न्यूनतम साझा कार्यक्रम टुंगो लगाएर मन्त्रिपरिषद् विस्तार गर्नेबारे छलफल भएको थियो। न्यूनतम साझा कार्यक्रममा सत्ता गठबन्धनलाई बलियो र दिगो बनाउनेदेखि संविधान संशोधनसम्मका विषयवस्तु समेटिएको बताइएको छ। त्यस्तै ओली सरकारले गरेका कामको समीक्षा, कोभिड-१९ रोकथाम, नियन्त्रण र उपचारलाई प्राथमिकतामा राखिएको छ।
कार्यदलले आवश्यक तयारी पुरा गरेपछि मंगलबार नै न्यूनतम साझा कार्यक्रम सार्वजनिक तयारी छ। यद्यपि मंगलबार बिहान बसेको कार्यदल विना निष्कर्ष टुंगिएको छ। कार्यदलमा काँग्रेस महामन्त्री पूर्णबहादुर खड्का संयोजक, सदस्यमा काँग्रेसबाट मीनेन्द्र रिजाल र रमेश लेखक, माओवादी केन्द्रबाट वर्षमान पुन र देव गुरुङ तथा जसपाबाट महिन्द्र राय यादव र राजेन्द्र श्रेष्ठ छन्।



लोकपाटी न्यूज

