कार्यदल निष्कर्षमा नपुग्दा गठबन्धनका शीर्ष नेताको बैठक अनिश्चित

gathabandhan_Karyadal
लोकपाटी न्यूज

काठमाडौं। सत्ता गठबन्धनको कार्यदलले सहमति जुटाउन नसक्दा आज बस्ने भनिएको शीर्ष नेताहरूको छलफल पछि सरेको छ। सरकार सञ्चालनका लागि न्यूनतम साझा कार्यक्रम तयार पार्न सोमबार बालुवाटारमा बसेको सत्ता गठबन्धन कार्यदलको बैठक निष्कर्षमा नपुग्दा शीर्ष नेताहरूको छलफल अनिश्चित बनेको छ।

कार्यदलले दस्तावेजहरूको मस्यौदा टुंगो लगाएपछि शीर्ष तहमा छलफल हुने नेताहरूले बताएका थिए। ‘कार्यदलले अझै काम सकेको छैन, आज पनि बैठक बस्दैछ, कार्यदलले काम सकेपछि हामी बैठक बस्छौं,’ जसपाका अध्यक्ष उपेन्द्र यादवले भने, ‘शीर्ष तहको बैठक कतिखेर बस्ने भन्ने टुंगो लागिसकेको छैन।’

पहिले सरकारले के काम गर्ने र सरकार सञ्चालन कसरी गर्ने भन्ने सैद्धान्तिक विषयमा टुंगो लागेपछि मात्र मन्त्रिपरिषद् विस्तार हुने उनले बताए। यादवले भने, ‘सरकारमा जाने एउटा सैद्धान्तिक आधार त चाहियो नि।’

कार्यदलले आज न्यूनतम साझा कार्यक्रमको टुंगो लगाउने र एक-दुई दिनमा सरकारले पूर्णता पाउने सम्भावना रहेको उनले बताए। कार्यदलले तयार पारेको न्यूनतम साझा कार्यक्रमको मस्यौदामा संविधान संशोधनको प्रतिबद्धता लगायतका विषयहरूलाई पनि समेटिनुपर्ने जसपाको माग छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्