काठमाडौं। सरकारको न्यूनतम साझा कार्यक्रम तयार पार्न सत्ता गठबन्धनका नेताहरुले गठन गरेको कार्यदलको बैठक जारी छ। बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ।
कार्यदलका एक नेताका अनुसार बैठकले सरकारका न्यूनतम साझा कार्यक्रम, सरकार सञ्चालन कार्यविधि र मन्त्रीहरूको आचार संहितासंहिता टुंगो लगाउने तयारी छ। कार्यदलको बैठक सोमबार पनि बसेको थियो। सो बैठकपछि नेताहरुले न्यूनतम साझा कार्यक्रममा मिहीन ढंगले छलफल गरेको र अर्को बैठकबाट टुंगो लगाउने बताएका थिए। उक्त छलफलले मूर्तरुप लिन सकेको थिएन।
प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार दिउँसो बसेको प्रमुख शीर्ष नेताको बैठकले गठबन्धन सरकारको नीति तथा कार्यक्रमलाई करिब करिब अन्तिम रुप दिएको छ। कांग्रेस सभापति देउवा नेतृत्वमा सरकार गठन भएको लामो समय बित्दासमेत मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन। गठबन्धन भित्रका दल आन्तरिक समस्यामा फसेपछि उनले मन्त्रिपरिषद्लाई पूर्णता दिन नसकेका हुन्।
सत्तारूढ गठबन्धनले कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा कार्यदल गठन गरेको छ। कार्यदलमा कांग्रेसका तर्फबाट डा मीनेन्द्र रिजाल, रमेश लेखक, माओवादी केन्द्रबाट देवप्रसाद गुरुङ र वर्षमान पुन, जसपाबाट राजेन्द्र श्रेष्ठ र महेन्द्र राय यादव सदस्य छन्। कार्यदलले गठबन्धन सरकारको प्राथमिकता, सरकारको नीति तथा कार्यक्रम, संघीयताको कार्यान्वयन लगायतका विषय समेटिएका छन्।



लोकपाटी न्यूज

