एमालेले गठन गर्‍यो ९ वटा विभाग

UML-esthae meeting
फाइल तस्बिर
लोकपाटी न्यूज

काठमाडौं। नेकपा एमालेले ९ वटा विभाग बनाएको छ। एमालेका प्रवक्ता प्रदीप कुमार ज्ञवालीले सोमबार बसेको स्थायी समिति बैठकले ९ वटा विभाग गठन गर्ने निर्णय गरेको जानकारी दिए।

एमालेले गठन गरेको विभागमा संगठन विभाग, संसदीय विभाग, आर्थिक विभाग, प्रचार विभाग, पर्यटन प्रवर्द्धन विभाग, स्कुल विभाग, विदेश विभागलगायतका रहेका छन्। बैठकले विभिन्न विभागका प्रमुख र सदस्यहरूको नाम तय गरेको छ।

पार्टी एकताको प्रयास चलिरहेका बेला एमालेले अब पर्खेर बस्न नसक्ने भन्दै सांगठानिक संरचनाहरूलाई पूर्णता दिन लागेको हो। पार्टी एकताको माहौल बनेको खण्डमा अन्य विभागमा नेपाल समूहलाई समेट्न सकिने ज्ञवालीको भनाइ छ।

विभागहरूमा अहिले सबै संख्यामा मनोनयन गरिएको छैन। आगामी २४ गते बस्ने केन्द्रीय कमिटीले थप निर्णय गर्ने प्रवक्ता ज्ञवालीले बताए। यसअघि एमालेले विभिन्न विभागहरूमा प्रमुख र उपप्रमुख चयन गरिसकेको छ। ती विभागमा केही सदस्य मनोनीत भएका छन् भने माधव पक्ष फर्केर आउँदा समेट्ने गरी केही सदस्य खोली राखिएको छ।

एमालेको स्कुल विभाग प्रमुख अध्यक्ष केपी शर्मा ओली स्वयं छन् भने संगठन विभाग प्रमुख विष्णु पौडेल छन्। त्यस्तै, विदेश विभाग प्रमुख राजन भट्टराई र आर्थिक विभागमा विष्णु रिमाल रहेका छन्। यसअघि एमालेको विदेश विभाग प्रमुखमा वरिष्ठ नेता माधवकुमार नेपाल र आर्थिक विभाग प्रमुखमा सुरेन्द्र पाण्डे थिए।

संसदीय विभागको प्रमुखमा सुवासचन्द्र नेम्वाङ, प्रचार विभागको प्रमुखमा प्रदीप ज्ञवाली, पर्यटन प्रवर्द्धन विभागको प्रमुखमा भानुभक्त ढकाल, निर्वाचन विभागको प्रमुखमा अग्नि खरेल र स्थानीय तह विभागको प्रमुखमा देवेन्द्र दाहाल छन्।

सोमबारको बैठकले पार्टीलाई नयाँ गतिका साथ सशक्त ढंगले अघि बढाउने निर्णय पनि गरेको छ। पार्टीलाई नयाँ गतिका साथ अघि बढाउन वडा तहदेखि नै अधिवेशन गर्ने निर्णय गरेको ज्ञवालीले जानकारी दिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्