एमालेमै फर्किइन् सांसद वली

Bimala_oli
लोकपाटी न्यूज

काठमाडौं। लुम्बिनी प्रदेशसभा सदस्य विमला खत्री वली एमालेमै फर्किएकी छन्। दाङबाट निर्वाचित प्रदेशसभा सदस्य वलीले सोमबार एक प्रेस विज्ञप्ति जारी गरेर आफू नेकपा एमालेमा रहेको बताएकी हुन्।

‘मैले सूर्य चिह्नबाट चुनाव जितेको र अहिले सूर्य चिह्न एमालेको रहेकाले एमाले छाडेर माओवादी रोज्ने कुरा पनि कानुनी रूपमा ठिक नभएकाले एमालेमै रहेको स्पष्ट पार्दछु,’ उनले विज्ञप्तिमा भनेकी छन्। यसअघि सर्वोच्च अदालतको फैसलाले नेकपा एमाले र माओवादी केन्द्र ब्युँताएपछि वलीले आफू माओवादी केन्द्रमै रहेको जनाएकी थिइन्। गत वैशाखमा उनले एउटा पत्रकार सम्मेलन गरेरै आफूखुसी माओवादी केन्द्र रोजेको बताएकी थिइन्।

अहिले मुख्यमन्त्री शङ्कर पोखरेलको सरकार अल्पमतमा परेपछि गठबन्धनले नयाँ सरकार गठनका लागि अविश्वासको प्रस्तावको तयारी गरिरहेका बेला वलीले आफू एमालेमा रहेको बताएकी छन्। गत शुक्रबारदेखि वली बेपत्ता भएका समाचारहरू पनि सार्वजनिक भएका थिए। माओवादीले उनको खोजतलास गर्दा उनी ३ दिनसम्म सम्पर्कमा आएकी थिइनन्। अहिले उनी मुख्यमन्त्री पोखरेलकै सम्पर्कमा छन्।

कूल ८३ जना सांसद भएको लुम्बिनी प्रदेशमा माओवादी र नेपाली काँग्रेससहितका ४१ जना सांसद विपक्षी गठबन्धनमा भएको बताइएको छ। ३८ जना सांसद पोखरेलको समर्थनमा छन्। विपक्षीको त्यो ४१ जनामध्ये एक विमला वली पनि हुन्।