काठमाडौं। नेकपा एमालेले स्थानीय तहको अधिवेशन असोज ९ गतेसम्म सक्न निर्देशन दिएको छ। स्थायी कमिटी बैठकले यस्तो निर्देशन दिएको हो। बैठकपछि एमालेका महासचिव ईश्वर पोखरेलले दिएको जानकारीअनुसार एमालेले देशव्यापी रूपमा असोज ३ गते वडा तहको अधिवेशन गरिसक्ने छ। असोज ९ सम्म सबै पालिकास्तरको अधिवेशन सक्ने निर्णय भएको उनले बताए।
बैठकले पार्टी सदस्यताको नवीकरण र अद्यावधिक गर्न समय सीमा तोकेको छ। ‘आज हामीले खास गरी पार्टी सदस्यतालाई नवीकरण गर्ने र अद्यावधिक गर्ने एउटा समय सीमा तय गरेका छौं। पहिले नै निर्देशन दिइसकेको हो। अब साउन २३ गतेभित्र सबै ठाउँका पार्टी कमिटीहरूले, खास गरी जिल्ला पार्टी कमिटीले, प्रदेश पार्टी कमिटीले सदस्यता नवीकरण र अद्यावधिक गरेर केन्द्रमा पठाइसक्नुपर्छ,’ पोखरेलले भने।
उनले भदौ २७ र २८ गते विधान महाधिवेशन गर्न लागिएकाले सदस्यता अद्यावधिक र नवीकरण गर्ने कुरा टुंग्याउनका लागि सो निर्णय गरिएको बताए। एमालेले साउन २४ गतेलाई केन्द्रीय कमिटी बैठक बोलाएको छ। ‘विधान अधिवेशन सम्बन्धमा अरू टुंगो गर्नका लागि केन्द्रीय कमिटीको बैठक साउन २४ गते बस्नेछ,’ उनले भने।



लोकपाटी न्यूज

