माधव नेपालले एमालेलाई सडकमा ल्याए : केपी ओली

KP sharma Oli
लोकपाटी न्यूज

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाललाई ‘बेसरम’को संज्ञा दिएका छन्। एमाले स्थायी समिति बैठकलाई आइतबार सम्बोधन गर्दै ओलीले आफ्नै पार्टीको सरकार ढाल्नेहरू बेसरम रहेको बताएका हुन्।

नेता नेपालको जिद्दी र स्वार्थका कारण नेकपा विघटन भएको र एमाले पनि फुट्न लागेको ओलीको आरोप छ। ‘एकीकृत भएर पार्टी फेरि फुट्ने चरणमा छ, फुट्नुपर्ने कुनै कारण थिएन। केही व्यक्तिले आफ्नो स्वार्थ र अहंकारका लागि पार्टी फुटाउन खोजे,’ ओलीले भने, ‘एमाले सरकार ढाल्नै पर्छ। दक्षिणपन्थीलाई सहयोग गरेर निर्लज्ज काम गरे बेसरमहरूले।’

आफ्नो पार्टीको सरकार ढालेर दक्षिणपन्थी सरकार बनाउन क्रियाशील नेताहरूले पार्टीभित्र अराजकता निम्त्याएको उनको भनाई छ। ओलीले अगाडि भने, ‘पार्टीको वरिष्ठ नेता पनि आफ्नो पार्टीलाई सरकारबाट पछारेर सत्ता पक्षीय गठबन्धनमा जानुभएको छ। यो भन्दा बेशरम के हुन्छ।’

उनले अहिलेको सरकार कुबाटोबाट बनेको बताए। उनले सरकार निर्वाचनको माध्यमबाट नबनेको दोहोर्‍याए। ‘निर्वाचन र जनादेशको माध्यमबाट अर्को सरकार आउँछ भने त्यसलाई प्रतिगमन भनिँदैन। तर, निर्वाचनको माध्यम र जनादेशको बाटोबाट होइन, कुबाटोबाट सरकार बन्यो,’ ओलीले भने।

नेपाल समूहले शेरबहादुर देउवालाई भोट हालेर आफ्नो पार्टीलाई सडकमा ल्याएको उनको आरोप छ। ओलीले भने, ‘विपक्षीलाई भोट हालेर आफ्नो पार्टीलाई सडकमा ल्याएको छ। पाँच दलीय गठबन्धन भनेको छ। एमालेकै नेता हैसियतमा सहभागी भएको छ। यस्तो बेसरम मान्छे नि।’

उनले माधव नेपालले गल्तिलाई नसच्याएसम्म एमालेमा स्वागत गर्न सक्ने वातावरण नभएको बताए। ‘आफ्नै पार्टीविरुद्ध लाग्नेले अग्रगमनको पाठ पढाएको छ,’ ओलीले भने, ‘यस्ता बेसरम मान्छेले मैले गल्ति गरेछु भनेर नआएसम्म पार्टीमा स्वागत गर्न सकिँदैन।’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्