काठमाडौं। दार्चुलामा तुइन तर्ने क्रममा भारतीय सीमा सुरक्षा बल एसएसबीले तुइन काटिदिएपछि युवा जयसिंह धामी महाकाली नदीमा बेपत्ता भएको घटना भारतीय शासक वर्षको नांगो षडयन्त्र र हस्तक्षेप भएको चार कम्युनिष्ट पार्टीले बताएका छन्।
दार्चुला घटनाका विषयमा चार पार्टीले संयुक्त रुपमा विज्ञप्ति निकालेर घटना निन्दनीय, नांगो षडयन्त्र र हस्तक्षेप भएको बताएका हुन्। मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी, नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, ऋषि कट्टेल नेतृत्वको नेकपा र विश्वभक्त दुलाल नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, नेपालले संयुक्त रुपमा विज्ञप्ति निकालेर दार्चुला घटनाप्रति आपत्ति जनाएका हुन्।
विज्ञप्तिमा भारतविरुद्ध प्रतिकारमा उत्रिन आह्वान गरिएको छ। ‘एसएसबीले काटिदिएर नेपाली नागरिक महाकालीमा बेपत्ता बनाएको घटना नेपाली राष्ट्रिय स्वाधीनतामाथिको भारतीय शासक वर्गको नांगो षड्यन्त्र र हस्तक्षेप हो,’ उनीहरुले भनेका छन्, ‘यो घटनामा बेपत्ता जयसिंह धामीको अवस्था सार्वजनिक गर्न, परिवारलाई न्याय र राहतको व्यवस्था तथा दोषीलाई यथाशिघ्र कारवाहीका लागि विश्वासिलो छानबिन अगाडि बढाउन नेपाल सरकारसँग हामी माग गर्दछौं।’
दार्चुलाको मालघाट तुइन काटिनु नेपालीको राष्ट्रिय स्वाधीनता र नेपाली जनताको स्वनिर्णयको अधिकारविरुद्धको हेपाहा र षड्यन्त्रमूलक घटना भएको चार दलले जनाएका छन्। उनीहरुले भारतीय पक्षले गराएको यस घटनाको डटेर प्रतिरोध गर्न पनि नागरिकलाई आह्वान गरेका छन्। ‘यथाशक्य चाँडो घटनाको वास्तविकता नेपाली जनताबीचमा सार्वजनिक गर्न र दोषीमाथि कारबाही ढिला गरियो भने हामी चार पार्टी संयुक्त संघर्षमा जान बाध्य हुनेछौं,’ विज्ञप्तिमा उल्लेख छ।




लोकपाटी न्यूज

