काठमाडौं। नेकपा (एमाले) का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले फेरि प्रधानमन्त्री बन्नका लागि जालझेल नगर्न सचेत गराएका छन्। अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई संकेत गर्दै नेता नेपालले फेरि प्रधानमन्त्री बन्नका लागि जालझेल नगर्न सचेत गराएका हुन्।
अखिल फोर्सले शनिबार आयोजना गरेको भेलामा नेता नेपालले भने, ‘हामीले प्रतिगमनलाई परास्त गरेका छौं। तर फेरि फर्केर प्रधानमन्त्री बन्छु कि ठानेर जालझेल कसैले नगरोस्। जे गर्नुछ पारदर्शी रूपमा गरोस्। प्रतिगामी सोच बोकेर फेरि कोही कसैले टाउको नउठाओस्।’
उनले कसैको पनि प्रतिगामी कदमविरुद्ध आफू डटेर लडिरहने पनि बताए। समाजमा राम्रा र नराम्रा दुवै कुरा रहेको बताउँदै नेता नेपालले अखिल फोर्सले नराम्रो बाटो नसमात्ने पनि विश्वास लिए। ‘समाजमा असाध्य राम्रा र नराम्रा दुवै उदाहरण छन्। समाजमा कुकर्मी पनि छन्’, उनले भने, ‘देशघाती काम गर्ने गरेका छन्। जनताको पीडा र बेदनामा नुन चुक हाल्न गरेका छन्।’
उनले आफूहरुको लडाइँ कुनै व्यक्तिसँग नभइ गलत प्रवृत्तिसँग भएको पनि टिप्पणी गरे। ‘हाम्रो लडाइँ कोही व्यक्तिविरुद्ध होइन। हामीले गलत प्रवृत्तिको विरोध गरौं भनेका हौं,’ उनले भने, ‘हामीले कसैप्रति पूर्वाग्रह पालेर हिँडेका छैनौं, पूर्वाग्रह पनि बोकेका छैनौं।’
आफू विचारमा अडिग योद्धा रहेको र कार्यकर्तालाई पनि त्यस्तै बन्न सुझाव दिँदै नेपालले आफूहरू मैदान छोडेर नभाग्ने बताए। ‘तर्सेर भाग्ने, मैदान छोडेर भाग्ने कुरा आउँदैन। हामी विचारमा अडिग योद्धा हौं,’ उनले भने, ‘हामी अरूको कुरा, आलोचना पनि सुन्छौं। सही छ भने ग्रहण गर्छौं गलत छ भनेर विनम्र भएर विरोध गर्छौं।’



लोकपाटी न्यूज

