काठमाडौं। नेकपा एमालेका केन्द्रीय सदस्य सूर्य थापाले पार्टी एकताका लागि नेता माधवकुमार नेपाललाई फकाउन आवश्यक नरहेको उल्लेख गरेका छन्। नेता नेपाललाई प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सहयोगी बन्न जानबाट रोक्न नहुने थापाको भनाई छ।
अध्यक्ष ओली प्रधानमन्त्री हुँदा प्रेस सल्लाहकार रहेका थापाले नेता नेपालले पार्टी घात र गद्दारी गरेको आरोप लगाए। नेपालले क्षमा याचना गर्नुपर्ने बेलामा कार्यदलको प्रतिफल १०बुँदे समझदारी नै नमाने भन्नु एकताको पक्षमा नरहेको बुझिने उनको भनाई छ।
‘प्रायश्चित गर्नु, क्षमा याचना गर्नु, सुध्रिनु र भविष्यमा यस्तो पार्टी घात र गद्दारी गर्ने छैन भन्नू त कहाँ हो कहाँ ? कार्यदलको प्रतिफल १०बुँदे समझदारी नै मान्य छैन, केपी शर्मा ओली मातहत एमालेमा फर्किन्न रे !,’ थापाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘अब धेरै ल्याङल्याङ नगरी उहाँलाई देउवा-प्रचण्डकै सहयोगी बन्न दिऔं, नरोकौं !’
पार्टी एकताका लागि विघटित कार्यदलका सदस्य सकारात्मक रहेको र भीम रावलसहितका नेताहरूले नेता नेपालसँग छलफल गर्नका लागि समय मागेको भन्दै शनिबार बोलाइएको एमाले स्थायी समिति बैठक एकछिन बसेर आइतबार दिउँसो ३ बजेसम्मका लागि स्थगित गरिएको छ।




लोकपाटी न्यूज

