काठमाडौं, १६ श्रावण। नेकपा (माओवादी केन्द्र) निकट योङ्ग कम्युनिस्ट लीग (वाइसिएल) ले देशको स्वाधीनता र स्वतन्त्रताका लागि आफ्नो संगठनले जुनसुकै मूल्य चुकाउन तयार गरेको चेतावनी दिएको छ। शुक्रबार महाकाली नदी तर्ने क्रममा भारतीय सीमा सुरक्षा बलले तुइन काटेका कारण एक नेपालीको ज्यान गएपछि वाइसिएलले सो चेतावनी दिएको हो।
शनिबार वाइसिएलका अध्यक्ष रामप्रसाद सापकोटा ‘दीपशिखा’ र महासचिव सुवोधराज शेर्पालीले एक विज्ञप्ति जारी गर्दै त्यस्तो चेतावनी दिएका हुन्। विज्ञप्तिमा वाइसिएलले ‘‘हाम्रो स्वाधीनता, भौगोलिक अखण्डता र स्वाभिमान हाम्रा लागि प्राणभन्दा प्यारो छ’’ भन्दै यथाशीघ्र दोषीहरूमाथि कार्वाही गर्न मागसमेत गरेको छ।
विज्ञप्तिमा भनिएको छ – ‘‘शुक्रबार भारतीय सुरक्षा फौजबाट गरिएको ज्यादतीको यथार्थ छानविन गरी कुटनीतिक स्तरबाट देशको स्वाभिमान र नागरिक जीवनको सुरक्षा एवं मृतक र तुइन काण्डबाट पीडित नागरिकको अभिभावकत्व र यथोचित क्षतिपूर्ति एवं राहतका निम्ति नेपाल सरकारसँग जोडदार माग गर्दछौं । नेपाल सरकारका तर्फबाट भारतीय राजदूतावासलाई घटनाको स्पष्टीकरण लिनसमेत माग गर्दर्छौं।’’
प्रेस विज्ञप्ति
महाकाली नदीमा अवस्थित तुइनबाट यात्रा गर्ने क्रममा भारतीय सीमा सुरक्षा बल (एसएसबि) ले तुइनको फलामे तार काटिदिएका कारण दार्चुलाको ब्यास गाउँपालिका–२ निवासी ३० वर्षीय युवा जयसिंह धामीको महाकाली नदीमा डुबेर मृत्यु भएको घटनाप्रति नेपाली क्रान्तिकारी युवाहरूको गौरवशाली संगठन योङ्ग कम्युनिस्ट लीग नेपाल (वाइसिएल) को गम्भीर ध्यानाकर्षण गएको छ।
सर्वप्रथम २१ औं शताब्दीको आधुनिक युगमा गरिएको यस प्रकारको जंगली बर्बरता र अमानवीय हर्कतको निन्दा गर्दै मृतक धामीप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौं एवं शोकसन्तप्त परिवारजन र आफन्तहरूमा गहिरो समवेदना प्रकट गर्दछौं।
नेपाल र भारत भौगोलिक दृष्टिले छिमेकी हुनुका नाताले सीमा एवं आर्थिक–सामाजिक क्षेत्रमा बहुआयमिक सम्बन्ध रहिआएको छ। तर, छिमेकी मुलूकसँग समानता र स्वतन्त्रताका आधारमा भातृत्वपूर्ण सम्बन्ध स्थापित गर्नुपर्नेमा भारतीय संस्थापन पक्षले पटकपटक नेपाल र नेपाली जनतामाथि आक्रमण र ज्यादती गरिरहेको छ। नेपाल विश्वको एक स्वाधीन, स्वतन्त्र र गौरवशाली इतिहास बोकेको मुलूक हो। हाम्रो स्वाधीनता, भौगोलिक अखण्डता र स्वाभिमान हाम्रा लागि प्राणभन्दा प्यारो छ। नेपालको भौगोलिक अखण्डता र राष्ट्रिय स्वाधीनता एवं स्वाभिमानमाथि भारतीय सत्तापक्ष र सुरक्षा फौजले पटकपटक गर्दै आएको यस प्रकारको ज्यादतीले छिमेकी मुलूकहरूसँग भारतको सम्बन्ध दिनप्रतिदिन खस्किँदो छ। तसर्थ, हामी आफ्नो बिस्तारवादी हस्तक्षेप र अमानवीय ज्यादतीलाई रोकी छिमेकी मुलूक एवं नागरिकहरूप्रति समानताको व्यवहार गर्न भारतीय सत्तापक्ष र सम्वद्ध सबैसँग जोडदार माग गर्दछौं।
शुक्रबार भारतीय सुरक्षा फौजबाट गरिएको ज्यादतीको यथार्थ छानविन गरी कुटनीतिक स्तरबाट देशको स्वाभिमान र नागरिक जीवनको सुरक्षा एवं मृतक र तुइन काण्डबाट पीडित नागरिकको अभिभावकत्व र यथोचित क्षतिपूर्ति एवं राहतका निम्ति नेपाल सरकारसँग जोडदार माग गर्दछौं। नेपाल सरकारका तर्फबाट भारतीय राजदूतावासलाई घटनाको स्पष्टीकरण लिनसमेत माग गर्दर्छौं। साथै यस प्रकारको ज्यादतीपूर्ण घटनाका विरुद्ध खबरदारी र देशको स्वाधीनताको पक्षमा एकीकृत संघर्षका लागि सम्पूर्ण वामपन्थी, देशभक्त एवं प्रजातान्त्रिक युवाहरूमा हार्दिक आव्हान गर्दछौं।




लोकपाटी न्यूज

