काठमाडौं। नेकपा एमालेको स्थायी समिति बैठक स्थगित भएको छ। तुल्सीलाल स्मृति प्रतिष्ठान भवनमा शनिबार दिउँसो बसेको स्थायी समिति बैठक एजेण्डामा प्रवेश नगरी स्थगित भएको हो।
बैठक सुरु हुनासाथ अध्यक्ष केपी शर्मा ओलीले विघटित कार्यदलमा भएको प्रगतिबारे जिज्ञासा राखेका थिए। एमाले स्थायी समिति सदस्य तथा संसदीय दलका उपनेता सुवास नेम्वाङले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षीय विघटित कार्यदलका सदस्यहरूसँग भएको छलफलबारे जानकारी गराएका थिए।
नेम्वाङले कार्यदलमा छलफल सकारात्मक भएको र भीम रावलसहितका नेताहरूले नेता नेपालसँग छलफल गर्नका लागि समय मागेकोले पार्टी एकताका लागि बैठक सार्न सुझाब दिएका थिए। नेम्वाङको ब्रिफिङपछि ओलीले बैठक आइतबार दिउँसो ३ बजेसम्मका लागि स्थगित गराएका छन्।
नेम्वाङले भने ‘मैले विघटित कार्यदलमा भएको सहमतिबारे बैठकमा जानकारी गराएँ। कार्यदलमा भएको छलफल र नेताहरू नेपालनिवास गएको विषय राखेपछि बैठक आइतबार दिउँसो ३ बजेसम्मका लागि स्थगित भएको छ।’ विघटित कार्यदलका सदस्यहरु भने ओली र नेपालको अन्तिम वार्ताका लागि पहल गरिरहेका छन्।



लोकपाटी न्यूज

