काठमाडौं। नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले काँग्रेस नेतृत्वको सरकारको पहिलो प्राथमिकता कोरोना नियन्त्रण हुनुपर्ने बताएका छन्। राजधानीमा शनिबार आयोजित एक कार्यक्रममा नेता सिंहले कोरोनाविरुद्धको खोप लगाउन नपाएका नागरिकका लागि तत्काल खोप उपलब्ध गराउन सरकारसँग माग गरेका हुन्।
देशका कोरोनाको तेस्रो लहरको जोखिम बढेकाले सम्पूर्ण नागरिकलाई खोपको व्यवस्था गर्न आग्रह गरे। उनले भने, ‘देशमा कोरोना संक्रमणको तेस्रो लहरको जोखिम उच्च छ। यस्तो बेला सरकारले कोरोना विरुद्धको खोप सम्पूर्ण नागरिकलाई व्यवस्था गर्नुपर्छ।’ प्रधानमन्त्री शेरबहादुर देउवाले संसदबाटै आफ्नो पहिलो प्राथमिकता कोरोना विरुद्धको खोप भनेको स्मरण गराउँदै उनले सोही अनुसारको काम गरेर देखाउन आग्रह गरे।
‘प्रधानमन्त्रीज्यूले संसद्मा समेत आफ्नो पहिलो प्राथमिकता पनि खोप हो, दोस्रो प्राथमिकता पनि खोप हो, तेस्रो प्राथमिकता पनि खोप हो भन्नु भएको छ। अब त्यही अनुसारको कदम चाल्नु पर्यो नि। कामबाटै उहाँले गर्नु भएको प्रतिबद्धता पूरा गरेर देखाउन पनि ध्यानाकर्षण गराउन चाहन्छु,’ सिंहले भने।



लोकपाटी न्यूज

