काठमाडौं। नेकपा माओवादी केन्द्रले लुम्बिनी प्रदेश सभाकी सांसद रहेकी आफ्ना नेता विमला खत्री वली शुक्रवार बिहानदेखि नै सम्पर्कविहीन भएको भने पनि उनी प्रहरीसँग भने शुक्रवार रातिदेखि सम्पर्कमा रहेको पाइएको छ।
लुम्बिनी प्रदेश सभामा माओवादी केन्द्रका प्रमुख सचेतक तुलाराम घर्तीमगरले सांसद वलीले शुक्रवार बिहानैदेखि फोन नउठाएको भन्दै उनी पार्टीको सम्पर्कबाट बाहिर रहेको बताएका थिए। त्यसपछि सञ्चारमाध्यमले उनी सम्पर्कविहीन भएको खबर लेखे।
तर दाङ जिल्ला प्रहरी कार्यालयका प्रमुख सुरेशप्रसाद काफ्लेले सांसद वली शुक्रवार रातिदेखि नै आफ्नो फोन सम्पर्कमा रहेको बताएका छन्। ‘हिजो राति फोन गर्दा उहाँले घाँटी दुखेकाले म नेपालगन्जको अस्पतालमा उपचार गराइरहेको छु, भन्नुभयो,’ एसपी काफ्लेले शनिबार बिहान भने, ‘अरूको फोन नउठाएको चाहिँ घाँटी दुखेर भन्नुभयो।’
यस्तै आज बिहान ८ बजेतिर पनि आफूले सांसद वलीलाई फोन गरेको एसपी काफ्लेले बताए। ‘तर आजचाहिँ उहाँले म ठिक छु, सकुशल छु मात्र भन्नुभयो (अस्पतालको कुरा गर्नुभएन),’ एसपी काफ्लेले भने, ‘माननीयज्यूलाई धेरै सोध्ने कुरा पनि आएन, उहाँ ठिक छु भनेपछि म ढुक्क भएँ।’
हिजो (शुक्रबार) राति पनि सांसद वलीले आफू कुन अस्पतालमा हो भनेर चाहिँ नखुलाएको एसपी काफ्लेले बताए। यता, माओवादी केन्द्रले भने वली घरैमा उपचार गराइरहेको जनाएको छ। प्रदेशस्थित माओवादीका प्रमुख सचेतक घर्तीले वलीको पारिवारसँग सम्पर्क भएको र उनी घरैमा उपचारमा रहेको जानकारी पाएको बताए। यद्यपी वलीसँग भने सम्पर्क नभएको घर्तीको भनाइ छ।
मुख्यमन्त्री शंकर पोखरेलले विश्वासको मत लिने बताइरहेका बेला सांसद वली सम्पर्कविहीन भएको समाचार आएपछि तरंग मच्चिएको थियो। यसअघि पनि पार्टीको सम्पर्कबाहिर रहेकी जसपा सांसद पुर्मती ढेंगालाई एमालेले मन्त्री पदसहित आर्थिक प्रलोभनमा पारेको जसपाले आरोप लगाएको थियो। ढेंगा अहिले जसपामै फर्किएकी छन्। सरकार परिवर्तनको सम्भावना रहेको भनिएका बेला सांसदहरू सम्पर्कविहीन हुनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ।



लोकपाटी न्यूज