काठमाडौं। नेकपा एमालेभित्रको विवाद थामिने कुनै संकेत देखिएको छैन। आन्तरिक एकता कायम गर्ने प्रयास निर्णायक चरणमा पुगेका एमाले अध्यक्ष केपी ओलीको बोलीले सहमति टरेको थियो। उनले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालसहितका नेताहरूलाई लक्षित गरेर आममाफीको घोषणा गरे। जसले एकताको सहमतिलाई प्रभावित बनाएको थियो। ओलीको उक्त घोषणापछि नेता नेपालको मनस्थिति फेरिएको एमाले वृत्तमा चर्चा छ।
यद्यपि पार्टीको विवाद टुंग्याउन पुर्याउन ओली र नेपालबीच आसपासमा संवाद गराउने प्रयास एमाले दोस्रो पुस्ताका नेताहरूले जारी राखेका छन्। कार्यदलले तयार पारेको १० बुँदे सहमतिको जगमा उभिएर आन्तरिक एकतालाई कायम राख्नु पर्नेमा जोड दिँदै आइएको छ। तर, उक्त सहमति नेता नेपालले स्वीकार गरेका छैन। नेपाल समूहले १० बुँदे सहमतिलाई परिष्कृत बनाएर एकता जोगाउनु पर्ने भनेको छ।
पार्टीभित्रको विवादलाई टुंगोमा पुर्याउन अध्यक्ष ओलीले आज स्थायी समिति बैठक बोलाएका छन्। ललितपुरस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा दिउँसो ३ बजे बैठक बस्ने तय भएको छ। बैठक अघि एमालेका दुवै समूह आन्तरिक छलफलमा जुटेका छन्। दुवै समूहले आ-आफ्नो पक्षका अलग भेला र बैठक आयोजना गरेका छन्।
माधव नेपालले भने अखिल फोर्सको बृहत् भेला आयोजना गरेका छन्। युथ फोर्सको काउन्टरमा अखिल फोर्स र पिपुल्स भोलेन्टियर्स घोषणा गरेका नेपालले आज कार्की ब्यांक्वेटमा फोर्सको भेलालाई सम्बोधन गर्दैछन्। आज एकै समयमा अध्यक्ष ओलीले काठमाडौं जिल्ला कमिटीको पूर्ण बैठकलाई सम्बोधन गर्दैछन् भने नेपालले अखिल फोर्सको भेलालाई सम्बोधन गर्ने छन्।
एमाले काठमाडौं जिल्ला कमिटीको पूर्ण बैठक मध्याह्न १२ बजे ड्रिम हाउस पार्टी प्यालेस नयाँ बस्तीमा आयोजना गरिएको छ। पार्टीलाई क्रियाशील गराउन जिल्ला कमिटीको पूर्ण बैठक बोलाइएको सचिव दीपक निरौलाले बताए। यता अखिल फोर्सको भेलाले ओली पक्षलाई जस्तासुकै चुनौती सामना गर्न तयार रहेको सन्देश दिन खोजिएको माधव पक्षीय अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले बताए।



लोकपाटी न्यूज

