काठमाडौं। शुक्रबार कोरोनाका सक्रिय संक्रमितको संख्या एक महिनायताकै उच्च देखिएको छ। गत १७ असारमा सक्रिय संक्रमितको संख्या ३१ हजार ३ सय ६८ रहेको थियो। यो संख्या क्रमशः ओरालो लाग्दो क्रममा रहे पनि पुनः शुक्रबार ३१ हजार १४ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार दैनिक ५ सयभन्दा धेरै संक्रमित हुने १२ वटा जिल्ला छन्। जसमा प्रदेश १ का मोरङ र सुनसरी बाग्मती प्रदेशका काठमाडौं, ललितपुर, भक्तपुर, चितवन र मकवानपुर, गण्डकी प्रदेशका नवलपरासीपूर्व रहेका छन्। यस्तै, कर्णाली प्रदेशको सुर्खेत, लुम्बिनी प्रदेशको रूपन्देहीलगायतका रहेका छन्।
पाँच दिनयता लगातार कोरोना संक्रमितको संख्या ३ हजारमाथि रहेको छ। गत सोमबार ३ हजार ४ सय २१, मंगलबार ३ हजार ८ सय ९९, बुधबार ३ हजार ८ सय ४०, बिहीबार ३ हजार ३ सय ६५ र हिजो शुक्रबार ३ हजार ६ सय ११ जना संक्रमित थपिएका थिए।
हेलचेक्र्याइँका कारण कोरोना संक्रमण बढ्दो क्रममा रहेको छ। सरकारले जारी गरेको जनस्वास्थ्यका मापदण्ड कार्यान्वयन हुन नसक्दा जोखिम पुनः बढेको जनस्वास्थ्य विज्ञले बताउँदै आएका छन्। सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन संक्रमणबाट बच्न स्वयं व्यक्ति आत्मानुशासित हुनुपर्ने बताउँछन्। उनी मास्कको समुचित प्रयोग, भौतिक दूरी कायम र व्यक्तिगत सरसफाइमा ध्यान दिनुपर्ने आवश्यकता औंल्याउँछन्।
स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घण्टामा पीसीआर तथा एन्टिजेन गरी १४ हजार ६ सय ६१ जनाको परीक्षण गरिएको छ। गत २४ घण्टामा ९ हजार ७ सय ८३ जनाको आरटी–पीसीआर विधिबाट र ४ हजार ८ सय ७८ जनाको एन्टिजेन परीक्षण गरिएको छ।
शुक्रबार देशभर २७ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार ८ सय ३४ पुगेको छ। केही दिनयता गम्भीर संक्रमितको संख्या पनि बढ्दो क्रममा रहेको छ। देशभरका अस्पतालमा ६ सय ८६ जना आईसीयू र १ सय ६१ जना भेन्टिलेटरमा उपचाररत छन्। हाल देशभर ३ सय ९० जना क्वारेन्टाइनमा छन्। अहिलेसम्म ३५ लाख ९४ हजार २ सय २ जनाको पीसीआर परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयको तथ्याकंमा छ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलका अनुसार हालसम्म ९७ लाख ८२ हजार ८ सय ५० खोप नेपालले प्राप्त गरेको छ। प्राप्त भएको खोपमध्ये १६ लाख २१ हजार ७ सय ५४ जनाले कोरोनाविरुद्धको पूर्ण खोप र ३७ लाख ७९ हजार ९ सय ३२ जनाले खोपको दोस्रो मात्रा लगाएका छन्। सरकारले आगामी असोजसम्म खोप लगाउन योग्य ३३ प्रतिशत नागरिकलाई खोप लगाइसक्ने योजना बनाएको जनाइएको छ। राजधानी दैनिकबाट



लोकपाटी न्यूज

