काठमाडौं। पछिल्लो समय नेपालमा फोरजीका ग्राहक घट्न थालेका छन्। केही महिना अगाडिसम्म उल्लेख्य मात्रामा थपिएका ग्राहक पछिल्लो समय घट्न थालेका हुन्।
नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७७/७८ को १० महिना (गत साउनदेखि जेठ मसान्तसम्म) को तथ्यांकअनुसार गत वैशाखको तुलनामा जेठमा प्रयोगकर्ता घटेको पाइएको हो। प्राधिकरणको तथ्यांकअनुसार वैशाख मसान्तसम्म ७६ लाख ९७ हजार ८६३ जना फोरजीका प्रयोगकर्ता रहेकामा जेठमा ७६ लाख ६४ हजार ४५९ पुगेको छ। गत वैशाखको तुलनामा जेठमा ३३ हजार ५०४ जनाले कमी आएको छ।
नेपालमा तीन दूरसञ्चार सेवा कम्पनीले फोरजी सेवा सञ्चालन गरेका छन्। तीन कम्पनीमध्येमा सबैभन्दा धेरै ग्राहक एनसेलको छ। दश महिनामा सो कम्पनीका फोरजीका ग्राहक ४८ लाख पाँच हजार पुगेको छ। गत चैत महिनामा ५० लाख १७ हजार १७० रहेको जनाइएको छ।
सरकारी स्वामित्वमा सञ्चालित नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) नेपाल टेलिकमले २१ हजार बढी फोरजी प्रयोगकर्ता थपेको छ। वैशाखसम्म टेलिकमसँग २६ लाख ८६ हजार प्रयोगकर्ता रहेकामा जेठ महिनामा २७ लाख सात हजार ४२९ पुर्याएको प्राधिकरणले जनाएको छ।
यसैगरी स्मार्ट टेलिकमका फोरजी प्रयोगकर्ता एक लाख ५१ हजार ७१५ पुगेको छ। गत वैशाखसम्म स्मार्टका प्रयोगकर्ता दुई लाख छ हजार ३९३ जना रहेका थिए। स्मार्ट टेलिकमका फोरजीका मात्र ग्राहक रहेका छन्।
९१ प्रतिशत जनताको पहुँचमा इन्टरनेट
नेपालमा ९१ प्रतिशत जनसंख्याको पहुँचमा इन्टरनेट सेवाको पहुँच पुगेको पाइएको छ। प्राधिकरणले जनसंख्या प्रक्षेपण ९२०११-२०३०० लाई आधार मानेर प्रतिवेदन तयार पारेको हो। प्रतिवेदनमा प्राधिकरणले कूल जनसंख्या दुई करोड ९८ लाख ७६ हजार ५३१ लाई आधार बनाएको छ।
प्राधिकरणको तथ्यांकअनुसार जेठसम्म दुई करोड ७७ लाख छ हजार ७११ जनाको पहुँचमा इन्टरनेट सेवा पुगेको छ। गत वैशाख महिनाको तुलनामा जेठमा तीन लाख ३१ हजार ४२२ बढी प्रयोगकर्ता थपिएका हुन्। गत वैशाखमा दुई करोड ७३ लाख ७५ हजार बढी प्रयोगकर्ता थिए। उक्त तथ्यांक अनुसार सबैभन्दा धेरै योगदान मोबाइल इन्टरनेटको रहेको छ। जेठसम्म मोबाइल इन्टरनेटको हिस्सा ६५ दशमलव ६८ प्रतिशत छ।
एक करोड २० लाख ५२ हजार बढीको पहुँचमा थ्रिजी इन्टरनेट पुगेको छ। यसमा सबैभन्दा धेरै टेलिकमको ९५ लाख ९० हजार र एनसेलको २४ लाख ६२ हजार रहेको जनाइएको छ। गत वैशाखमा एक करोड १९ लाख ५६ हजार प्रयोगकर्ता रहेकामा जेठमा करिब ९६ हजार बढी थ्रिजीका प्रयोगकर्ता थपिएका छन्। फिक्स ब्रोडब्याण्डको हिस्सा २५ दशमलव २७ प्रतिशत रहेको छ। यसमा एडिएसएलका सात लाख ८५ हजार र एफटिटिएच इन्टरनेट पाँच लाख ५६ हजार बढी रहेका छन्। -रासस



लोकपाटी न्यूज