काठमाडौं। नेकपा एमालेको स्थायी समिति बैठक भोलि बस्ने भएको छ। बैठकमा पार्टीको आगामी महाधिवेशनमा केन्द्रित भएर छलफल हुने एमाले महाचिव ईश्वर पोखरेलले जानकारी दिए।
माधव नेपाल पक्षसँगको एकताको विषयलाई छिटो टुंग्याएर महाधिवेशनमा केन्द्रित हुन आफूहरूले चाहिरहेको पोखरेलको भनाइ छ। उनले झलनाथ खनाल र माधव नेपाल पक्षलाई लामो समयसम्म कुर्न नसकिने पनि बताए। पार्टी भित्रको विवाद समाधानका नाममा अनन्तकालसम्म कसैलाई पनि पर्खिन नसकिने उनको भनाई छ।
‘अधिकतम कोशिष गर्ने नाममा यो अनिश्चिततालाई अनन्तकालसम्म लम्ब्याउनु हुँदैन। देशभरका नेता कार्यकर्ताहरूले व्यक्त गर्नु भएको धारणामा हामी टुंगोमा पुग्छौं,’ उनले भने, ‘विवाद समाधान कार्यदलले तयार पारेको १० बुँदे प्रस्ताव दुवैतर्फका साथीहरूले नेतृत्वसँगको परामर्शमा तयार पारेर अनुमोदन गरेपछि अरू प्रस्ताव दिनहुँ सार्वजनिक हुँदा यसले पार्टी एकता हुने वातावरण बनाउँदैन।’
पोखरेलले एकतालाई छिटो टुंग्याएर महाधिवेशनमा केन्द्रित हुनुपर्ने बताए। यसका लागि नेता माधव नेपाललाई पनि जिम्मेवार रुमपा प्रस्तुत हुन उनको आग्रह छ। नेपाल पक्ष आज साँझसम्म सहमतिमा नआएर शनिवार बस्ने पार्टीको स्थायी समिति बैठकले आवश्यक निर्णय लिने पोखरेलले चेतावनी पनि दिए। उनले भने, ‘भोलि बस्ने स्थायी कमिटीको बैठकबाट वारपार हुन्छ।’
उनले नेता नेपालले राखेको दोस्रो अध्यक्षको प्रस्ताव स्वीकार गर्न नसकिने बताए। पार्टी २०७५ जेठ २ गतेभन्दा अघिको अवस्थामा जाने भएकाले माधव नेपालको प्रस्ताव पार्टीको विधि, विधान विपरीत भएको पोखरेलको तर्क छ। र नेपाल पक्षबाट हरेक दिन नयाँ प्रस्ताव आउने गरेकाले ती प्रस्ताव स्वीकार गर्न नसकिने उनले बताए। उनले एकताका लागि बनेको कार्यदलले सहमति जुटाएर केन्द्रीय समितिले अनुमोदन गरेको १० बूँदे सहमति कार्यान्वयन गरी पार्टीलाई एकतावद्ध बनाएर लैजान आफूहरू लागिरहेको बताएका थिए।



लोकपाटी न्यूज

