माधव नेपाल र विष्णु पौडेलबीच छलफल

Nepal_Paudel
लोकपाटी न्यूज

काठमाडौं। नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र उपमहासचिव विष्णु पौडेलबीच छलफल भएको छ। अध्यक्ष केपी शर्मा ओली समूहबाट पूर्वकार्यदलमा रहेका पौडेल नेता नेपाललाई भेट्न उनकै निवास कोटेश्वर पुगेका थिए।

अध्यक्ष ओलीले भोलि स्थायी समिति बैठक बोलाउने तयारी गरिरहेका छन्। एमालेमा विभाजन कि एकता भन्ने प्रश्न निरुपण हुन सकेको छैन। पछिल्लो समय अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच संवाद नै हुन सकेको छैन। यद्यपि एमालेका दोस्रो तहका नेताहरूले पने पार्टी एकता कायम राख्न प्रयासरत छन्।

दोस्रो तहका नेताहरुकै प्रयासमा गत असार २७ गते तयार पारेको १० बुँदे एकता प्रस्ताव नेता नेपालले स्वीकार गरेका छैनन्। कार्यदलको प्रस्तावमा सन्तुष्ट हुन नसकेका नेता नेपालले एमालेका सबै संरचना २०७५ जेठ २ को अवस्थामा फर्काउनुपर्ने अडान राख्दै आएका छन्। तर अध्यक्ष ओली पक्षले जेठ २ मा फर्कने बताए पनि व्यवहारतः जेठ २ को एमाले संरचनाको बैठक बस्न सकेको छैन।

ओली पक्षले जेठ २ मा फर्किसकेको भने पनि फागुन २३ पछि गरेका निर्णय अनुसार पार्टी बैठक बोलाउँदै आएका छन्। जसप्रति नेपाल समूहले असन्तुष्टि जनाउँदै आएको छ। पछिल्लो पटक कार्यदलले तयार पारेको १० बुँदे एकता प्रस्तावमा अध्यक्ष ओली र नेता नेपालबीचको शक्ति बाँडफाँडबारे केही उल्लेख छैन।

कार्यदल सदस्यहरूले दुई नेताको समझदारीमा शक्ति बाँडफाँड गर्न उनीहरूलाई जिम्मा छोडेको बताएका छन्। तर, त्यसका लागि ओली र नेपालबीच भेटवार्ता गर्न जरुरी हुने भएकाले उनीहरुबीच संवाद गराउने प्रयास कार्यदलका सदस्यसहितका दोस्रो तहका नेताहरूले प्रयास गरिरहेका छन्।

सोही क्रममा संस्थापनतर्फका नेता पौडेल शुक्रवार वरिष्ठ नेता नेपाललाई भेटेका हुन्। यसअघि बिहीबार स्थायी कमिटी सदस्य सुवास नेम्वाङले पनि नेपाललाई भेटेका थिए। नेता नेपालसँग बिहीबार डेढ घण्टा भेटवार्ता गरेका नेम्वाङले आफ्नो प्रस्तावमा नेपाल पोजेटिभ रहेको बताएका थिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्