प्रहरी टोलीमाथि बरामद सुन र पैसा अनियमितता गरेको आरोप

nepal-police
लोकपाटी न्यूज

डोटी। जिल्ला प्रहरी कार्यालयको टोलीद्वारा पक्राउ गरिएको सुन तथा रु १७ लाख बढी रकममा अनियमितता गरेको आरोप लागेको छ। प्रहरीले गत फागुनमा चोरीको भन्दै यहाँको केआइसिंह गाउँपालिका–६ भीताणीबाट उक्त सुन र रकम बरामद गरेको थियो।

रकम र सुन भारतबाट चोरी गरी ल्याएको आरोपमा स्थानीय ६० वर्षीया काली भुललाई पक्राउ गरिएको थियो । पक्राउ गरिएकी महिलालाई केही दिन हिरासतमा राखी प्रहरीले छाडेको थियो। उक्त सुन र रकम प्रहरीले हिनामिना गरेको भन्दै यहाँका नागरिक प्रहरीप्रति आक्रोशित बनेका छन्। उनीहरुले सुन र पैसाका विषयमा आधारिक जानकारी दिन माग गरेका छन्।

केआइसिंह–६ भिताणी गाउँबाट कूल एक किलो १०० ग्राम पक्राउ गरिएको सुन र रकमका विषयमा अहिलेसम्म पनि प्रहरीले आधिकारिक खबर सार्वजनिक नगरेको भन्दै यहाँका नागरिक आक्रोशित बनेका सञ्चारकर्मी प्रकाश बमले बताए। जिल्ला प्रहरी कार्यालयको टोलीले नखुलेको एक किलो १०० ग्राम सुनसहित रु १७ लाख ४७ हजार नगद बरामदसँगै भिताणी गाउँबाट दुई जनालाई पक्राउ गरेको थियो।

पक्राउ गरेको सुन तथा पक्राउ पर्ने व्यक्तिका विषयमा अहिलेसम्म सार्वजनिक नगरेको सञ्चारकर्मी केशवचन्द्र महराले बताए। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कान्तिराज जोशी र इलाका प्रहरी कार्यालय दिपायलका तत्कालीन प्रहरी नायब निरीक्षक धर्मानन्द जोशी नेतृत्वको टोलीले गोप्य सूचनाका आधारमा दिपायलबाट सुन र रकम बोकेर तराई जाने क्रममा कुलपातेबाट भुललाई पक्राउ गरेको थियो।

प्रहरीले काली र उनका भतिजालाई एक दिन हिरासतमा राखेर दोस्रो दिन बयान पश्चात् छाडेको थियो। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रवीन्द्र चन्दका अनुसार पक्राउ गरिएको सुन तथा रकम प्रहरी प्रधान कार्यालयमा बुझाइएको छ। प्रहरीले उक्त प्रकरणमा जोडिएका अन्य व्यक्ति अझै फरार रहेका जनाएको छ। प्रहरी उपरीक्षक दानबहादुर मल्लले भारतीय दूतावास हुँदै हेडक्वार्टरमार्फत आफूहरुलाई सूचना आएपछि बरामद गरिएको सुन र नगद प्रहरी प्रधान कार्यालयमार्फत सम्बन्धित धनीलाई बुझाइएको बताए।रासस

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्