नगरप्रमख गैरे र उप्रमुख काउचाले गरे नगर गौरव योजनाको स्थलगत अनुगमन

लोकपाटी न्यूज

बागलुङ। गलकोट नगर गौरवको योजना निर्माणाधीन घुम्टे बहुउद्देशीय सभा हलको गलकोट नगरपालिकाका नगर प्रमुख भरत शर्मा गैरे र नगर उपप्रमुख रेणुका काउचा मगरले स्थलगत अनुगमन गरेका छन्। अनुगमन पश्चात गलकोट नगरपालिका वडा नं ७ मल्ममा निर्माण भईरहेको सभाहलको कामको प्रगति बारे नगरप्रमुख गैरेले जानकारी लिएका छन्।

स्थलगत अवलोकनपछि नगर प्रमुख गैरेले गलकोट नगरपालिकामा निर्माणाधीन बहुउद्देशीय सभा हल निर्माण भएपछि तालिम, गोष्ठी, सभा, सम्मेलन, भेला लगायतका कार्य गर्न सहज हुने बताए। नगर प्रमुख गैरेले भने अहिले विभिन्न कार्यक्रम गर्न समस्या हुने गरेकोमा सभा हल निर्माण कार्य सम्पन्न भएपछि समस्याको समाधान हुनेछ।

त्यस्तै गलकोट नगरपालिकाका नगर उप्रमुख रेणुका काउचा मगरले स्थानीय तह निर्माण भए सँगै पालिकामा विकास निर्माणले तिव्रता पाएको बताइन्। नगरपालिकाले नगर भित्रको आवश्यकता पहिचान गरेर सोही बमोजिम निती तथा कार्यक्रम ल्याईरहेको जानकारी दिइन्।

उक्त सभा हल निर्माणको लागि आर्थिक वर्ष २०७६र०७७ मा गण्डकी प्रदेश सरकारले रु १५ लाख बजेट विनियोजन गरेको थियो त्यस्तै आर्थिक वर्ष २०७७/०७८ मा गलकोट नगरपालिकाले नगर गौरव योजना अन्तर्गत रु १५ लाख बजेट विनियोजन गरेको थियो चालु आर्थिक वर्षमा गलकोट नगरपालिकाले सभा हल निर्माणको बाँकी काम सम्पन्न गर्न रु २० लाख बजेट विनियोजन गरेको गलकोट नगरपालिका वडा नं ७ का वडा अध्यक्ष सुवेदार टिका बहादुर थापाले बताए।
गत वर्ष ग्राउण्ड बेस र पिलर तयार गरिएको सभा हलको यस वर्ष वाल निर्माण सँगै पहिलो तला ढलान गरि शौचालय समेत निर्माण गरिएको छ।

१६ मिटर लम्बाई र ५ मिटर चौडाई रहेको सभा हल यस आर्थिक वर्षमा सम्पन्न गर्ने लक्ष्य राखिएको घुम्टे बहुउद्देशीय सभा हल निर्माण उपभोक्ता समितिका अध्यक्ष थम्मन थापा सन्देशले जानकारी दिए। २ तलाको सभाहलमा ग्राउण्ड फ्लोरमा स्टोर रुम, कार्यालय रहने छ भनें उपल्लो तलामा झण्डै ३ सय मानिसहरु अटने आधुनिक सुविधा सम्पन्न सभा हल निर्माण हुने छ।

सभाहलको घडेरी व्यवस्थापन र सडक ट्रयाक निर्माण गर्न सामाजिक संस्था घुम्टे युवा परिवार जापान शाखाले आर्थिक सहयोग गरेको थियो। आजै नगर प्रमुख भरत शर्मा गैरे र नगर उपप्रमुख रेणुका काउचा मगरले प्रगति आधारभुत विद्यालय मल्मको नवनिर्मित २ कोठे भवनको समेत स्थलगत अवलोकन गरेका छन्। १८ लाख रुपैयाको लागतमा उक्त भवन निर्माण कार्य सम्पन्न गरिएको प्रगति आधारभुत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राम बहादुर थापाले बताए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्