जसपाद्वारा तीन सांसदमाथि अनुशासनको कारबाही

Bhattarai_Yadab
लोकपाटी न्यूज

काठमाडौं। जनता समाजवादी पार्टी (जसपा)ले लुम्बिनी प्रदेशका तीन सांसदलाई कारबाही गरेको छ। जसपा कार्यकारिणी समितिको मंगलबार बसेको बैठकले लुम्बिनी प्रदेश सरकारमा सहभागी सांसदहरुलाई अनुशासनको कारबाही गर्ने निर्णय गरको हो।

लुम्बिनी प्रदेश सांसद सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव र कल्पना पाण्डेलाई पार्टी र प्रदेश सभाबाट हटाउने गरी कारबाही गरेको इस्तियाक राईले बताए। उनीहरू पार्टी नीतिविपरीत मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको सरकारमा सहभागी भएका थिए।

यसअघि विजयबहादुर यादव, कल्पना पाण्डे लम्साल, सन्तोष पाण्डे र सुमन शर्मा रायमाझीलाई जसपाको बहुमतले निष्कासन गर्ने निर्णय गरेको थियो। बहुमतको निर्णकै आधारमा प्रदेशका सभामुखले उनीहरुलाई निष्कासन गरेका थिए। तर उनीहरुलाई सर्वोच्च अदालतले पुनर्बहाली गरिदिएको थियो।

रायमाझी भने यसअघि सरकारबाट बाहिरिसकेकी छन्। जसपा अध्यक्ष उपेन्द्र यादव पक्षले आधिकारीकता पाएको भोलिपल्टै उनीहरु कारबाहीमा परेका हुन्। त्यस्तै, बैठकले २०७४ सालमा स्थानीय तह निर्वाचनमा पार्टीबाट निर्वाचित भएर पार्टी परित्याग गरेकालाई पनि अनुशासनको कारबाही गर्ने निर्णय गरेको राययादवले जानकारी दिए।

‘प्रदेशमन्त्री, सांसद र स्थानीय तहका जनप्रतिनिधि जो पार्टी परित्याग गरेका छन् र पार्टीको निर्देशन मानेका छैनन्, उनीहरूलाई पार्टीको साधारण सदस्यसमेत नरहनेगरी कारबाही गर्ने निर्णय भएको छ,’ उनले भने।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्