काठमाडौं। जनता समाजवादी पार्टी (जसपा)को केन्द्रीय कार्यकारिणी समिति बैठक सकिएको छ। पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बसेको बैठकले संसदीय दलको विधान पारित गरेको छ।
यसअघि जसपा संसदीय दलको बैठकले विधान पारित गरेको थियो। जसपा एकीकृत भए पनि संसदीय दलको विधान तत्कालीन राजपाबाट महन्थ ठाकुर र तत्कालीन समाजवादी पार्टीबाट उपेन्द्र यादव भएका थिए। पार्टी एक भए पनि दलको विधान छुट्टाछुट्टै थियो।
निर्वाचन आयोगबाट यादव पक्षले दलको अधिकारिकता पाएपछि उनी नै दलको नेता भएका हुन्। मंगलबारको बैठकमा महन्थपक्षका कार्यकारिणी सदस्यहरु भने उपस्थित भएका थिएनन्। जसपा संसदीय दलको विधान ३४ जना कार्यकारिणी सदस्यले पारित गरेको नेता महेन्द्र राय यादवले बताए।
बैठकले संसदीय दलको नेता छान्नका लागि तीन सदस्यीय निर्वाचन समितिसमेत गठन गरेको छ। निर्वाचन समिति संयोजकमा नवराज सुवेदी चयन भएका छन्। त्यस्तै समिति सदस्यहरूमा रमेश यादव र सुशीला श्रेष्ठ तोकिएका छन्। बैठकमा ३४ जना कार्यकारिणी सदस्य उपस्थित रहेको जसपाले जनाएको छ।
निर्वाचन आयोगले महन्थ ठाकुर र उपेन्द्र यादवबीच देखिएको आधिकारिकता विवाद हिजो निरुपण गरेको थियो। आयोगले बहुमतका आधारमा यादव पक्षलाई जसपाको आधिकारिकता दिइसकेको छ। आयोगबाट आधिकारिकता पाएको भोलिपल्ट शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारमा जानका लागि जसपाले दलको नेता चयन प्रक्रिया अघि बढाएको हो।



लोकपाटी न्यूज

