जसपा संसदीय दलको नेता चयन गर्न निर्वाचन समिति गठन

jasapa pic 2
लोकपाटी न्यूज

काठमाडौं। जनता समाजवादी पार्टी (जसपा) संसदीय दलको नेता चयन गर्न निर्वाचन समिति गठन गरिएको छ। मंगलबार बसेको जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठकले नवराज सुवेदीको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन समिति गठन गरेको हो। समितिमा रमेश यादव र सुशीला श्रेष्ठ सदस्य छन्।

निर्वाचन आयोगले पार्टीको आधिकारिता दिएको एक दिनपछि अध्यक्ष यादवले कार्यकारिणी समितिको बैठक ललितपुरको बालकुमारीमा बैठक बसेको थियो। राष्ट्रिय जनता पार्टी (राजपा)  र संघीय समाजवादी पार्टी एकीकरण भएर जसपा बने पनि संसदीय दलको नेता चयन भएको थिएन। जसपामा विवाद बढेपछि अर्का अध्यक्ष ठाकुर पक्षले राजेन्द्र महतोलाई संसदीय दलको नेतामा चयन गरेको थियो।

तर, ११ साउनमा निर्वाचन आयोगले उपेन्द्र यादव पक्षलाई जसपाको आधिकारिकता प्रदान गरेपछि आज बसेको केन्द्रीय कार्यकारिणी समिति बैठकले संसदीय दलको नेता चयन प्रक्रिया अघि बढाएको हो। बैठकले जसपा संसदीय दलको विधान पनि पारित गरेको छ।

यससँगै निर्वाचन आयोग र अदालतमा मुद्दामामिला हेर्न प्रकाश अधिकारीलाई तोकेको छ। निर्वाचन आयोगको केन्द्रीय कार्यकारिणी समिति सदस्यको सनाखत गर्ने निर्णयविरुद्ध ठाकुर पक्षले ८ साउनमा सर्वोच्च अदालतमा निवेदन दिएको थियो। त्यसमाथि छलफलका लागि सर्वोच्चले दुवै पक्षलाई १५ साउनमा बोलाएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्