काठमाडौं। नेपाली कांग्रेसले साढे चार लाख नयाँ सदस्य थप गर्दै क्रियाशील सदस्यको संख्या साढे आठ लाख पुर्याएको छ। क्रियाशील सदस्यता छानबिन समितिले १४ औँ महाधिवेशनका लागि ८ लाख ५२ हजार ७ सय ११ जनालाई सदस्यता प्रदान गरेको संयोजक रमेश लेखकले जानकारी दिए।
छानबीन समितिको विवरणअनुसार ४ लाख ४३ हजार ८ सय ७८ जना नयाँ सदस्य थप गरिएको छ। यस्तै ४ लाख ९ हजारको विवरण नवीकरण गरिएको छ। कांग्रेसमा बागमती प्रदेशबाट सबैभन्दा बढी क्रियाशील सदस्य छन्। जसको संख्या १ लाख ८६ हजार छ यस्तै कर्णालीमा सबैभन्दा कम ५४ हजार ५ सय ६६ जना सदस्य छन्।
छानबिन समितिले धनुषा क्षेत्र नम्बर ४, सर्लाही २ र बारा तथा सप्तरीको सदस्यता विवाद टुंग्याउन सकेको छैन। मंगलबार बिहान बुझाइएको क्रियाशील सदस्यतमा समितिको प्रतिवेदनमा ९८ प्रतिशत कार्य सकेको जनाइएको छ। ‘हामीले गर्नसक्ने सबै कार्य गरिसक्यौं। ९८ प्रतिशत नाम छानबिन गर्यौं। टुंगो पनि लगायौं,’ समितिका प्रवक्ता प्रदीप पौडेलले भने, ‘२ प्रतिशत जति स्थगित गरेका छौं।’
समितिले क्रियाशील सदस्यता टुंगो लगाउन बाँकी रहेकामा दुई प्रकृतिका छन्। १५औं महाधिवेशनमा क्रियाशील सदस्य हुन पाउने गरी केही नाममा समिति नै टुंगोमा पुगेको छ। सहमति बन्न नसकेका नामलाई टुंगो लगाउने जिम्मेवारी शीर्ष नेतालाई दिइने भएको छ।
१५औं महाधिवेशनमा क्रियाशील सदस्य हुन पाउने गरी समितिमा भएको निर्णयको आधारमा शीर्ष तहले थप समाधान खोज्ने कार्य गर्नेछैन। तर, समितिले विवादै रहेको भनेर किटान गरेका स्थानको फाइलमा शीर्ष तहबाट समाधान खोजिनेछ।



लोकपाटी न्यूज

