एमाले एकताका लागि १० बुँदे प्रस्ताव पर्याप्त छैन : ज्ञवाली

Yuwaraj_Gyawali
लोकपाटी न्यूज

काठमाडौं। नेकपा एमालेको माधव पक्षका नेता युवराज ज्ञवालीले यसअघि एमाले कार्यदलले तयार पारेको १० बुँदे प्रस्ताव परिष्कृत गरेर मात्रै पार्टी एकता हुने बताएका छन्। उनले माधव नेपाल पक्ष हरसम्भव उपायबाट एमाले एकताको पक्षमा उभिने पनि प्रष्ट पारेका छन्।

‘यसअघि कार्यदलले तयार पारेको १० बुँदे प्रस्तावलाई थप अपडेट र परिष्कृत गरेर सहमति खोज्नुपर्छ। त्यसो गरियो भने एमाले एकता सम्भव छ,’ ज्ञवालीले भने, ‘एमालेलाई दक्षिणपन्थी भासबाट जोगाउन पनि पार्टी एकता जरुरी देखियो त्यसका लागि १० बुँदेलाई परिष्कृत गर्नुपर्छ भन्ने हाम्रो भनाइ हो।’

उनले १० बुँदेलाई परिष्कृत गर्न सोमबारबाटै गृहकार्य थाल्न वरिष्ठ नेता माधव नेपालले निर्देशन दिएको र नेताहरू लागिसकेको बताए। ‘हिजोबाटै गृहकार्य सुरु गर्न वरिष्ठ नेताले पनि भनिसक्नुभएको छ। अरू नेताहरू पनि त्यसतर्फ लागिसक्नुभयो। जतिसक्दो चाँडो गृहकार्य गरेर पार्टी एकता निष्कर्षमा पुर्‍याउनुपर्छ भन्नेमा कुनै विवाद छैन,’ ज्ञवालीको भनाइ छ।

उनले नेकपा एमालेलाई दक्षिणपन्थी भासबाट जोगाएर क्रान्तिकारी धारमा लैजानुपर्ने भन्दै रूपान्तरण जरुरी भएको बताए। एमाले उपाध्यक्ष समेत रहेका ज्ञवालीले भने, ‘त्यसका लागि हाम्रो सोमबार सम्पन्न स्थायी समिति बैठकले पनि हरसम्भव उपायबाट पार्टी एकतालाई जोड दिने निर्णय गरेको हो।’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्