पदका लागि होइन, प्रतिगमनका विरूद्भ लडेको हुँ, दोस्रो अध्यक्ष चाहिँदैन : माधव नेपाल

madhav kumar nepal
लोकपाटी न्यूज

काठमाडौं। नेकपा (एमाले) का वरिष्ठ नेता माधव कुमार नेपालले पार्टीमा देखिएको विवाद कुनै पदीय लोभको लागि नभएको बताएका छन्। सोमबार अखिल नेपाल किसान महासंघले राखेको भर्चुअल कार्यक्रममा मन्तव्य राख्दै नेता नेपालले यस्तो बताएका हुन्।

पार्टी अध्यक्ष केपी शर्मा ओलीको दम्भ, अहंकार र स्वोच्छाचारी प्रवृत्तीका कारण पार्टीभित्र संकट गहिरिएको बताए। वरिष्ठ नेता नेपालले ओली नसच्चिदासम्म संघर्ष जारी हुने बताए।पछिल्लो समय आफूलाई दोस्रो अध्यक्ष दिएर भएपनि पार्टी मिलाउने कोशिस गरिएको भन्दै आपत्ति जनाए। आफूले कुनै पद र प्रतिष्ठाका लागि संघर्ष नगरेको भन्दै दोस्रो अध्यक्ष आफू नबन्ने घोषणा गरे।

‘मलाई दोस्रो अध्यक्ष दिने भनेर छलफल चल्न थालेको छ। म पदको लागि जे पनि गर्ने व्यक्ति होइन।यदि दोस्रो अध्यक्ष बन्दा वित्तिकै माधव नेपाल पदको लागि जसो पनि गर्छ भन्ने प्रचार गरिनेछ, नेता नेपालले भने, ‘म दोस्रो अध्यक्ष बन्न तयार छैन। बरु तपाईहरु बीचबाट कोही अध्यक्ष बन्नुस मेरो सहयोग रहन्छ भनेर स्थायी कमिटीका कमरेडहरुलाई भनेको छु।’

पछिल्लो समय ओली समूहबाट नेता नेपाललाई अध्यक्ष दिएर भएपनि पार्टी मिलाउनुपर्ने आवाज उठेको छ। १० सदस्यीय कार्यदलबाट पनि माधव नेपाललाई अध्यक्ष बनाएर पार्टी एकता गर्नुपर्ने प्रस्ताव आएको छ।

दुई तिहाईको कम्युनिष्ट पार्टीको जनमत समाप्त पार्ने ओलीसंग कुनै पनि पदमा सम्झौता नहुने उनले प्रष्ट पारे। पार्टी एकता विरोधी आफू नभएको भन्दै ओलीका कुरामा त्यत्तिकै सहमति गर्न नसकिने बताए।

आजसम्म ओलीले गरेका गल्तिको गहिरो समिक्षा गर्न जरुरी भएको भन्दै उनले अबको एक हप्ताभित्र पार्टी भित्रको विवाद वार कि पार हुने समेत प्रष्ट पारे। पार्टीलाई क्रान्तिकारी बनाउने गरी मैदानमा खट्न उनले निर्देशन दिए।

दोस्रो तहका नेता कार्यकर्ताप्रति इंकित गर्दै नेता नेपालले देब्रे र दाहिने हात नभए पनि मुटुसहितको दुई खुट्टाको सहायतामा बाच्न सकिने बताए। आफूलाई तेस्रो तहका नेतासहित देशभरका लाखौं कार्यकर्ताको साथ रहेको बताए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्