काठमाडौं। जनता समाजवादी पार्टी (जसपा)को आधिकारिकता उपेन्द्र यादव पक्षले पाएपछि महन्थ ठाकुर निकट नेताहरुले अब अर्को पार्टी दर्ता गरेर चलाउने प्रतिक्रिया दिएका छन्।
महन्थ ठाकुर पक्षका नेता लक्ष्मणलाल कर्णले अर्को पार्टी दर्ता गरेर चलाउने बताए। निर्वाचन आयोगले दल दर्ताको आधिकारिता उपेन्द्र यादव पक्षलाई दिएकाले आफूहरु नयाँ दल दर्ता गरेर अघि बढ्ने उनको भनाइ छ।
‘निर्वाचन आयोगले उपेन्द्र जीहरुलाई दलको आाधिकारिकता दियो। आयोगको फैसलाले नै भनिसक्यो अर्को दल दर्ता गरेर चलाउन सक्नुहुने छ’, कर्णले भने,‘अब पार्टीमा छलफल गरेर नयाँ दल दर्ता गरेर अघि बढ्ने छौं।’
निर्वाचन आयोगले जसपाको आधिकारितासम्बन्धी विवादको फैसला उपेन्द्र यादवको पक्षमा सुनाएको छ। सोमबार निर्वाचन आयोगमा जसपाको उपेन्द्र यादव र महन्थ ठाकुर पक्षमा सशरीर उपस्थित भएर हस्ताक्षर सनाखत गराउँदा उपेन्द्र यादवको पक्षमा बहुमत देखिएसँगै यादव पक्षलाई नै आधिकारिता दिएको हो।
साथै, आयोगले जसपाको महन्थ ठाकुर पक्षलाई अर्को दल दर्ताका लागि आह्वान पनि गरेको छ। केन्द्रीय कार्यकारिणी परिषदका ५१ जना सदस्यमध्ये ३४ जना यादवको पक्षमा उभिएका थिए भने ठाकुर पक्षमा १६ जनाले हस्ताक्षर गरेका थिए। यादवले असार ४ गते आधिकारिकताका लागि निवेदन दिएको थियो।



लोकपाटी न्यूज

