के हुन्छ ठाकुर पक्षका सांसदको पद ?

Mahanth_Thakur_Rajendra_Mahato
लोकपाटी न्यूज

काठमाडौं। निर्वाचन आयोगले जसपाको महन्थ ठाकुर पक्षलाई अर्को दल दर्ताका लागि आह्वान गरेको छ। उपेन्द्र यादव पक्षलाई पार्टीको आधिकारिकता दिँदै ठाकुर पक्षलाई छुट्टै दल दर्ताका लागि आह्वान गर्ने निर्णय गरेको हो।

केन्द्रीय कार्यकारिणी परिषदका ५१ जना सदस्यमध्ये ३४ जना यादवको पक्षमा उभिएकाले उक्त पक्षलाई आधिकाकिरता दिएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए। आयोगले राजनीतिक दल सम्बन्धी ऐनको दफा ४४ (६) अनुसार यादव पक्षलाई आधिकारिकता दिँदै छुट्टै दल दर्ता गर्न आह्वान गरेको हो।

उक्त दफामा भनिएको छ, ‘…समितिका पदाधिकारी र सदस्यको बहुमत रहेको छ त्यस्तो पक्षलाई विवाद उत्पन्न हुनु अघिको दलको हैसियतमा मान्यता दिई अर्को पक्षलाई छुट्टै राजनीतिक दलको रुपमा मान्यता दिई दर्ता गर्न सक्नेछ।’ छुट्टै दल दर्ता गरेको अवस्थामा दल त्याग आकर्षित हुने किन नहुने भन्नेबारे आयोगको फैसलामा उल्लेख नभएको प्रवक्ता श्रेष्ठले जानकारी दिए।

दल सम्बन्धी एनेको दफा ३२ (१) (ग) ले छुट्टै दल दर्ता गरेकामा सांसदहरुले दल त्याग गरेको मानिने उल्लेख छ। त्यसबारेमा सोधिएको प्रश्नमा प्रवक्ता श्रेष्ठले भने, ‘कतिपय विषय आयोगको क्षेत्राधिकारभित्र पर्दैन। अहिलेलाई छुट्टै दल दर्ताका लागि आह्वान भएको छ।’

जसपाको आधिकारिकता विवाद निरुपण गर्नका लागि आयोगले पाँचै जना पदाधिकारी रहेको इजलास गठन गरेर सुनुवाइ गरेको थियो। इजलासले साउन ३ र ७ गते सुनुवाइ गरेको थियो। इजलासको आदेश अनुसार नै सामेबार कार्यकारिणी परिषदका सदस्यलाई उपस्थित हुन आदेश दिएर बहुमतका आधारमा आधिकारिकता विवाद छिनोफानो गरेको हो। यादवले असार ४ गते आधिकारिकताका लागि निवेदन दिएका थिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्