काठमाडौं। निर्वाचन आयोगले उपेन्द्र यादव पक्षलाई जनता समाजवादी पार्टी (जसपा)को आधिकारिकता दिएको छ। यादव पक्षमा केन्द्रीय कार्यकारिणी समितिका बहुमत सदस्य भएकाले आयोगले आधिकारिकता दिएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए।
केन्द्रीय कार्यकारिणी समितिका बहुमत सदस्य आफ्नो पक्षमा पुर्याएपछि निर्वाचन आयोगले यादव पक्षलाई आधिकारिकता दिएको हो। जसपाका अध्यक्षद्वय यादव र महन्थ ठाकुर पक्षबीच आधिकारिकता सम्बन्धी विवाद भएपछि आज निर्वाचन आयोगले केन्द्रीय कार्यकारिणी समितिका सदस्यहरुलाई आयोगमै बोलाएर को कसको पक्षमा भनेर सनाखत गराएको थियो।
आयोगले महन्थ ठाकुर पक्षलाई दल दर्ताको अवसर दिएको छ। आधिकारिताबारे निर्णय लिन आयोगले जसपाका दुवै पक्ष (यादव र ठाकुर)लाई बोलाएको थियो। यादवको पक्षमा ३४ र ठाकुरको पक्षमा १६ जना कार्यकारिणी सदस्यले हस्ताक्षर गरेका थिए। रेशम चौधरी भने तटस्थ बसेका थिए। डिल्लीबजार कारागारमा रहेका चौधरीलाई आयोगमा उपस्थित गराइएको थियो।



लोकपाटी न्यूज

