काठमाडौं। जनता समाजवादी पार्टीको आधिकारिकता विवादमा रेशम चौधरी तटस्थ बसेका छन्। हाल जेलमा रहेका प्रतिनिधिसभाका निलम्बित सदस्य तथा जसपाका कार्यकारिणी सभा सदस्य चौधरीले पार्टीको आधिकारिकता सम्बन्धी विवादमा आफू तटस्थ निर्णय सुनाए। उनले आफूलाई पक्षमा विपक्षमा हस्ताक्षर सनाखत आफ्नो नैतिकताले नदिएको बताए।
‘आज जेलबाट यस निर्वाचन आयोगमा आएर पक्ष र विपक्षको सनाखत गर्न मेरो नियत र नैतिकताले दिएन’, उनले भने, ‘मेरो लागि पक्ष जसपा हो, विपक्ष पनि जसपा हो। म जसपाको एउटा कार्यकर्ता हुँ।’ पार्टी अध्यक्ष महन्थ ठाकुरलाई सघाउन नसकेकोमा चौधरीले क्षमायाचना पनि गरे। उनले अध्यक्ष ठाकुरलाई भीष्मपितामहको संज्ञा दिए।
चौधरीले हार्ने निश्चित हुँदाहुँदै पनि ठाकुरले केपी ओलीलाई सघाएको स्मरण गर्दै वास्तवमा भने भीष्मपितामह भएको टिप्पणी गरे। ‘महाभारतको युद्धमा भिष्मपितामहलाई थाहा थियो तर पनि उनी दुर्योधनको पक्ष लिएर लडाइँ लड्न बाध्य भए,’ निर्वाचन आयोग परिसरबाट बाहिरिने क्रममा उनले भने, ‘युधिष्ठिर र अर्जुनले युद्ध जित्छन् भन्ने उहाँलाई थाहा थियो। तथापि उहाँ दुर्योधनको पक्षमा उभिनुभयो।’
चौधरीले आफ्नो मुद्दामा पार्टीले गम्भीरता नदेखाएको पनि गुनासो पोख्न भ्याए। ‘आज राजनीतिक मुद्दाका कारणले म जेल बस्नुपरेको छ। मेरो मुद्दामा मेरो पार्टी कतिको लडिरहेको छ त्यो उहाँहरूको दृष्टिकोण होला,’ उनको भनाइ थियो। तर न्यायको लागि हारगुहार गरिरहँदा पनि कसैले नसुकेको उनको कटाक्ष थियो।



लोकपाटी न्यूज

