नेकपा एमाले विवाद : संसदीय समितिमा छताछुल्ल

KP_Oli_Madhav_Nepal
लोकपाटी न्यूज

काठमाडौं। नेकपा एमालेभित्रको विवाद संसदीय समितिमा पनि देखिएको छ। पार्टीभित्रको विवाद उत्कर्षमा पुगिरहेका बेला संसदीय समितिमा एमालेका सांसदहरूबीच भनाभन भएको हो।

संसदीय समितिमा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले संसद् बचाउन सकेकोमा समितिका सदस्यहरूलाई बधाई दिँदा एमालेकै सांसद नारदमुनि रानाले प्रतिवाद गरेपछि विवाद उत्पन्न भएको थियो।

सांसद रानाले संसद् पुनःस्थापना र अहिलेको सरकार सर्वोच्च अदालतले बनाइदिएको भनेर प्रतिवाद गरेपछि संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा हंगामा मच्चिएको थियो। आफ्नो बोल्ने पालो आएपछि एमाले संस्थापन पक्षका सांसद रानाले अहिलेको संसद् र सरकार परमादेशले बनाएको भनेपछि कांग्रेस, माओवादी र माधव नेपाल पक्षका सांसद आक्रोशित बनेका थिए।

रानाले परमादेशको प्रसंग उठाएपछि नेता नेपालले प्रतिगमनको पक्ष लिने तपाईं बैठकबाट बाहिर जानुुस् भनेर आक्रोश व्यक्त गरे। कांग्रेस सांसद विपीन राजभण्डारीले संसद् र सरकार जनमतले बनाएको भन्दै अमर्यादित कुरा नबोल्न चेतावनी दिएका थिए। उनले मन्त्रिपरिषद्मा गएर आएको सांसद समितिमा बस्न नपाउने नियम रहेको समेत स्मरण गराए।

सांसदहरूले रानालाई बैठकबाट निकाल्न सभापति पवित्रा निरौलालाई आग्रहसमेत गरेका थिए। सभापति निरौलाले समिति कुनै राजनीतिक पार्टीको बैठक स्थल नभएको भन्दै समितिले दिएको विषयमा केन्द्रित हुन आग्रह गरे पनि सांसदहरू रानामाथि खनिएका थिए।

यसैबीच एमालेका नेता माधवकुमार नेपालले संसद् पुनःस्थापना गरेर आफूहरू सबैलाई मर्नबाट जोगाइएको भन्दै सांसदहरूलाई बधाई दिएका थिए। प्रतिनिधिसभा पुनःस्थापनापछि पहिलोपटक आइतबार बसेको संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा नेता नेपालले समितिमा रहेका सदस्यहरूलाई बधाई दिएका हुन्।

नेता नेपालभने– ‘हामी सबैलाई मर्नबाट जोगाइएको छ। संसद् फेरि पुनर्जीवित भएको छ। हामी सबैलाई बधाई छ । एउटा संघर्षबाट सफल भएर भेट भएको छ।’ महामारीका बेला तत्काललाई चुनावमा जानुपर्ने स्थिति टरेको बताउँदै उनले अब संसद्लाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिए।

नेपालले भने– ‘संसद् पुनःस्थापना नभएको भए हामी कोरोना फैलाउँदै, आफू पनि संक्रमित हुँदै भोट माग्न गाउँ–गाउँ जानुपर्ने अवस्था हुने थियो। त्यसको अन्त्य गरेका छौं। अब संसद्लाई प्रभावकारी बनाएर लानुपर्नेछ।’ नेता नेपालले नयाँ सरकार बनेको र यो सरकारले अघिल्लो सरकारका नराम्रा कामबाट सिकेर सचेत भई अघि बढ्नुपर्नेमा जोड दिए। नेपाल समाचारपत्रबाट

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्