काठमाडौं। नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका स्थायी समिति सदस्यहरूको बैठक सुरु भएको छ। शंखमुलस्थि एक क्याफेमा नेपाल पक्षका स्थायी समिति सदस्यहरुको बैठक अहिले चलिरहेको हो।
पार्टीभित्र एकताको पहल गरिरहेका कार्यदलका सदस्यहरूसहित नेपाल पक्षीय स्थायी कमिटी सदस्यहरूले बैठक बोलाउन माग गरेपछि नेता नेपालले नेताहरूसँग छलफल थालेका हुन्। बैठकमा भीम रावल पनि सहभागी छन्। यसअघि गत साउन ३ गते प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने विषयमा नेता नेपालसित कुरा नमिलेपछि रावलले सांसद पदबाट राजीनामा दिएका थिए।
त्यसपछि एमालेका दुबै समूहले गर्ने गतिविधिमा रावल जान छोडेका थिए। रावल बैठकमा सहभागी हुन छाडेपछि नेता नेपाल टोखास्थित निवासमा गएर उनलाई भेटेका थिए। रावलले शुक्रबार सांसद पदबाट राजीनामा फिर्ता लिए। त्यसपछि उनी नेपाल समूहमै सक्रिय हुन थालेका हुन्।
पछिल्लो समय अध्यक्ष केपी शर्मा ओली र नेता नेपाल पक्षबीचको विवाद साम्य हुन नसक्दा एमाले विभाजनको संघारमा छ। तर दोस्रो तहका नेताहरूले भने पार्टीलाई एकताबद्ध बनाउनुपर्ने भन्दै छलफल चलाइरहेका छन्।



लोकपाटी न्यूज

