राजेन्द्र बिक/ बाजुरा, ९साउन। बडिमालिका नगरपालिका वडा नम्बर -५ स्थित मना गाउँ पहिरोको उच्च जोखिममा परेको छ। शुक्रबार राती आएको अबिरल वर्षाले घरको आँगन भासिन थालेपछि मना गाउँ पहिरोको उच्च जोखिममा परेको वडा अध्यक्ष बलबहादुर थापाले बताए।
शुक्रबार राती १२ बजे तिर आएको अबिरल वर्षाले पश्चिम नमुना टोल,शितल टोल,रोटी सल्लेडी टोल,चौतारा टोल र बांउकुडा टोल ,रुघाखोचा गरि सबै बस्ती पहिरोको जोखिममा परेका वडा अध्यक्ष थापाले बताए।वर्षाका कारण पहिरो खस्दा रोपाइ गरिसकेका खेतहरुमा समेत ठूलो क्षति पुर्याएपछि स्थानीय पिडामा परेका छन्।
आफ्नो घर पछाडिको पुरै वाल भत्केपछि रातभरी तनाबका कारण सुत्न समेत नसकेको स्थानीय बुँदे ल्वारले गुनासो गरे।ठाउँ -ठाउँमा जमिन भांसिएकाले जतिखेर पनि पहिरो गएर क्षति पुग्न सक्छकी भन्ने चिन्ताले गाउँनै त्रसित बनेको छ।अर्का स्थानीय लछिराम साउंदले भने, ‘वडा कार्यालयको सभाहल पछाडि पहिरो गएपछि सबैभन्दा बढी पश्चिम नमुना टोल जोखिममा परेको छ।
जोखिम व्यवस्थापनका लागि वडा कार्यालयको तर्फबाट आवश्यक समन्वयसहित पहलको काम आफूहरुले गरिरहेको वडाध्यक्ष बलबहादुर थापाले बताए। अविरल वर्षाले गर्दा बाजुराका अरु विभिन्न ठाउँमा समेत जोखिम बढेको र बालिनाली नष्ट गरेको बताइएको छ।



लोकपाटी न्यूज

