‘युथ फोर्स’ भ्याली कमाण्ड घोषणामा किन गएनन् केपी ओली ?

KP-Sharma-Oli
लोकपाटी न्यूज

काठमाडौं। नेकपा एमाले भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपालले आज ‘युथफोर्स’को भ्याली कमाण्ड घोषणा गर्दैछ। पार्टी अध्यक्ष केपी शर्मा ओलीले भ्याली कमान्डका सदस्यहरूलाई आज शपथ पनि खुवाउने कार्यक्रम रहेको थियो। तर, अध्यक्ष ओली उक्त कार्यक्रममा अनुपस्थित भएका छन्।

ओली आफू उपस्थित हुन नसकेपछि महासचिव ईश्वर पोखरेललाई उक्त कार्यक्रममा पठाएका छन्। एमालेको आन्तरिक एकता कायम गर्न सक्रिय रहेका नेताहरूले ‘युथ फोर्स’ भ्याली कमाण्ड घोषणा सभामा नजान आग्रह गरेपछि ओली अन्तिम समयमा रोकिएको बताइएको छ। उनी नगएपछि महासचिव पोखरेललाई प्रमुख अतिथि बनाएर कार्की पार्टी प्यालेसमा युथफोर्सको घोषणा हुँदैछ।

एमाले निकट स्रोतले भने अध्यक्ष ओलीलाई वार्ता प्रक्रियामा रहेका नेताहरूले माधव नेपालसँग भेटघाटको वातावरण बनाइरहेको र एकता प्रक्रियामा असर नपरोस् भनेर सो कार्यक्रममा उपस्थित नहुन आग्रह गरेको बताएको छ। यसअघि घोषणा कार्यक्रममा ओली आउने भन्दै प्रचार गरिएका थियो। र्‍यालीका लागि बनाइएको ब्यानरमा ओलीको फोटो राखेर प्रचार गरिएको थियो।

एमालेका दुवै पक्षमा पछिल्लो समय बाहुबली संगठनको घोषणामा प्रतिस्पर्धा जस्तै चलेको छ। संस्थापन पक्षले युथफोर्स ब्यूँताएपछि माधवकुमार नेपाल पक्षले अखिल फोर्स बनाएको थियो। बिहीबार मात्रै नेपाल पक्षले नै पिपुल्स भोलेन्टियरको घोषणा गरेको थियो। भक्तपुरमा नेता नेपालकै उपस्थितिमा हजार जानाको पिपुल्स भोलेन्टियर घोषणा भएको थियो।

पार्टी भित्रको विवाद चर्किँदै जाँदा एक अर्काको काउन्टरमा घोषणा भइरहेका यस्ता बाहुबली संगठनको घोषणाले बन्न लागेको सहमतिको वातावरण समेत बन्ने चिन्ता नेताहरूले गरेका छन्। यस्तो कार्यक्रममा सहभागी हुँदा उत्तेजक अभिव्यक्ति दिनुपर्ने र यसले पार्टीभित्र बन्न लागेको माहौल समेत थप बिगार्ने भन्दै कार्यदलका सदस्यहरूले जोड गरेपछि ओली हच्किएका हुन्।

एमाले नेता योगेश भट्टराईले अखिल र युवासंघ जस्ता संगठनलाई ओझेलमा पारेर गठन गरिएका यस्ता फोर्सको औचित्य नहुने बताएका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्