साउन ३ को गम्भीर षड्यन्त्रलाई असफल बनायौं : नेपाल

Madhav_Nepal
लोकपाटी न्यूज

काठमाडौं। नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले दूरदर्शी राजनेता मै हुँ भनेर डंका बजाउने सोचलाई आफूहरूले असफल बनाएको बताएका छन्। ४३औँ पुष्पलाल स्मृति दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा नेता नेपालले केपी ओलीतिर इंगित गर्दै संसद् विघटनका सबै कदम ठीक थिए भन्ने प्रमाणित गर्न भएको षड्यन्त्र आफूहरूले असफल पारेको बताएका हुन्।

‘२०७७ साल पुस ५ गते गरेको विघटन जालझेल हो भन्ने पुष्टि गर्नका लागि साउन ३ गते फेरि गम्भीर षड्यन्त्र भएको थियो। जसरी पनि शेरबहादुरको सरकारले विश्वासको मत नपाओस्, नपाइसकेपछि विघटन गरेका मेरा सबै कदम ठीक थिए, दूरदर्शी राजनेता मै हुँ भनेर डंका बजाउने सोचलाई हामीले असफल बनाएका छौं,’ उनले भने। यद्यपि नेता नेपालले पार्टीभित्रका अन्तरविरोधको मूल कारण खोज्न अध्यक्ष ओलीलाई सुझाए।

एमालेको अन्तरविरोध पदको लडाइँमा नभएको भन्दै नेता नेपालले वैचारिक मान्यता, विचारसँग सम्बन्धित रहेको बताए। पार्टी अध्यक्ष ओलीतर्फ इंगित गर्दै नेता नेपालले भने, ‘जसले आफ्नो घर सम्हाल्न सक्दैन, जसले आफ्नो पार्टीलाई व्यवस्थित गर्न सक्दैन। पार्टीको अन्तरविरोध ठीक पहिचान गर्न सक्दैन अनि त्यसले समाजको अन्तरविरोध के समाधान गर्न सक्ला ? पार्टीको अन्तरविरोधको मूल कारण खोजी गर्नुहोस्। यो अन्तरविरोध पदको लडाइँ होइन। यो प्रतिष्ठाको लडाइँ होइन।’

नेता नेपालले अगाडि भने, ‘संघ संगठन विचारको आधारमा बन्छन्। सिद्धान्तको आधारमा बन्छन्। धेरै जनताले चाहने विचार, संगठन हो। आज बहुमत पाएको यत्रो कम्युनिस्ट पार्टी नेकपा (एमाले) १२१ ठाउँमा जितेकोमा घट्दा-घट्दा ८३ मा पुगेको छ। अझै कति घट्ने हो ठेगान छैन!’ नेता नेपालले पार्टीमा अनेक खालका विकृति, विसंगति देखिनु नीति, विचार, विधि, आचरणसँग जोडिएका विषय भन्दै यसको ठीक पहिचान गर्नुपर्ने पनि बताए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्