काठमाडौं। बंलादेशकी प्रधानमन्त्री शेख हसिनाले प्रधानमन्त्री शेरबहादुर देउवालाई ढाका भ्रमणको निम्तो दिएकी छन्। शुक्रबार प्रधानमन्त्री देउवालाई बधाई दिँदै समकक्षी हसिनाले कार्यकाल सफलताको कामना गरेकी छन्। उनले सहयोगका नयाँ क्षेत्रमा साझेदारीको प्रस्ताव गरेकी छन्।
प्रधानमन्त्री देउवालाई पठाएको बधाई सन्देशमा बंगलादेशी प्रधानमन्त्रीले संसदमा देउवालाई प्राप्त अत्यधिक मत नेपाली जनता र नेपालको राजनीतिक नेतृत्वले उनीमाथि गरेको विश्वास र भरोसाको प्रमाण भएको बताइन्। निकटको छिमेकीको नाताले बंगलादेश र नेपालबीच सुमधुर सम्बन्ध रहेको चर्चा गर्दै उनले सन्देशमा त्यो सम्बन्ध बहुसमानता र एक-अर्कालाई जोड्ने साझा सम्पर्कमा आधारित रहेको उल्लेख गरेकी छन्।
बंगलादेश र नेपालबीच विविध क्षेत्रमा विद्यमान सहयोगलाई प्रधानमन्त्री देउवाको सक्षम नेतृत्वमा अझ सुदृढ तुल्याउन तथा उपयोग नगरिएका सहयोगका सम्भावित क्षेत्र पहिचान गरी द्विपक्षीय सहयोग एवं सहकार्य घनीभूत हुने विश्वास व्यक्त गगरेकी छन्।



लोकपाटी न्यूज

