काठमाडौं। राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले ५ दलको एकताले संविधान र संसद जोगाएको जिकिर गरेका छन्। शुक्रबार ४३ औँ पुष्पलाल स्मृति दिवसको उपलक्ष्यमा आयोजित ‘नेपाली कम्युनिष्ट आन्दोलनको वर्तमान संकट र आगामी बाटो’ विषयक प्रवचन कार्यक्रममा अध्यक्ष केसीले यस्तो बताएका हुन्।
अध्यक्ष केसीले सर्वोच्चको फैसला स्वीकार्य रहेको बताउँदै राष्ट्रपति विद्यादेवी भण्डारीको भूमिका अलोकतान्त्रिक भएको समेत आरोप लगाएका छन्। तत्काललाई संविधान जोगिएको बताउँदै उनले अबको दिनमा संसोधन गरेर अझै उत्कृष्ट संविधान बनाउनुपर्ने उल्लेख गरे।
केसीले पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारले विचित्रको काम गरेको पनि बताए। जनतालाई कोरोनाबाट बच्न खोप उपलब्ध गराउनुपर्ने बेलामा ओली नेतृत्वको सरकारले भोट मागिरहेको भन्दै कटाक्ष गरे। ओलीले संविधान च्यात्न खोजेपछि संघर्षमा जानुपरेको समेत दाबी गरे।
‘हामीले समर्थन गरेका हौं, तर तिघ्रामा पिप जम्मा भएपछि निचोरेर फाल्नुपर्छ, पार्टीभित्रकै साथीहरुले संघर्ष गर्नुभयो,’ ओलीबारे टिप्पणी गर्दै उनले भने, ‘५ दलको एकताले धर्मनिरपेक्षता र गणतन्त्र लगायतका उपलब्धि बचाएको छ।’
उनले अब संसद कम्तिमा १८ महिना बचेको पनि बताए। ‘सर्वोच्च अदालतको यो फैसला हामीलाई स्वीकार्य छ, तर राष्ट्रपतिको भूमिका अलोकतान्त्रिक देखिन्छ’, उनले थपे, ‘केपी ओलीको सरकारले विचित्रकै काम गर्यो। जनताले खोप भनिरहेका बेला भोट भनिरह्यो, चुनाव भनिरह्यो।’ अध्यक्ष केसीले चुनावमा खर्च गरेर जितेपछि भ्रष्टाचार गर्ने सर्वस्वीकार्य विषय भएको समेत बताए।



लोकपाटी न्यूज

